चितवनको खैरहनीमा नवौं थारू खिचरा महोत्सवको तयारी


हमार पहुरा डट कम
चितवन, पुस २१ गते । पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सव हुनेभएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी –५, गौचरनमा पुस २८ देखि माघ १० गतेसम्म महोत्सव सञ्चालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

माघी पर्वको अबसर पारेर थारु समुदायको साँस्कृतिक, भेषभुषा, भाषा–साहित्य, कला, संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदैआएको छ । यस महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभइ सबै जातजातिले गर्वको रुपमा लिनेगरेको महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताउनुभयो ।

महोत्सवमा १५० बटा स्टल रहने आयोजकले जनाएको छ । स्टलहरुमा थारु समुदायको खानाका परिकारहरु राखिने छन् । यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न संघ संस्थाहरुको स्टलहरु समेत रहने छन् । महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ ।

गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया