थारू गाउँमा खोज्नीबोज्नी जारी, महिलालाई धमाधम बरघरको जिम्मेवारी


हमार पहुरा डट कम
धनगढी, माघ १८ गते । थारु गाउँमा भूरा खेल्ने काम (खोज्नीबोज्नी) जारी छ । यही क्रममा कैलालीमा यस वर्ष धमाधम महिलालाई गाउँको नेतृत्व गर्ने जिम्मेवारी बढ्दैगएको छ । यस वर्ष अहिलेसम्म कैलालीमा आठ जना थारु महिला गाउँको भलमन्सा (बरघर) बन्न सफल हुनुभएको छ । गाउँवासीको भूरा खेलले उनीहरुलाई गाउँको नेतृत्व गर्न भलमन्साको जिम्मेवारी सुम्पेको हो ।

भलमन्सा प्रथा थारु समुदायमा सदियोंदेखि प्रचलनमा छ । माघ महिनाभरि भलमन्सा चयन गर्ने गरिएकाले भलमन्सा बन्ने महिलाको सङ्ख्या अझ बढ्न सक्ने विश्वास थारु अगुवाहरुको छ । यसअघि, भलमन्सा भएर पुरुषले मात्र काम गर्नेगरेका थिए ।

घोडाघोडी नगरपालिका –१२ कोटा गाउँमा इन्द्रा चौधरी, धनगढी उपमहानगरपालिका –१५ कनरी गाउँमा पहिलो पटक असरानी चौधरीले भलमन्साको जिम्मेवारी पाउनुभएको छ । यसअघि भएका भूरा खेल वा खोज्नीबोज्नीबाट दुवै गाउँमा पुरुषलाई नै भलमन्सा छान्ने गरिन्थ्यो । दुवै गाउँमा पहिलो पटक महिलाले आफ्नो क्षमता देखाउने अवसर पाएका छन् ।

माघ महिनाभरि भलमन्सा चयन गर्ने गरिएकाले भलमन्सा बन्ने महिलाको सङ्ख्या अझ बढ्न सक्ने विश्वास थारु अगुवाहरुको छ ।

यसैगरी, कैलारी गाउँपालिका –४ मा पाँच जना महिलाले यसवर्ष भलमन्साको जिम्मेवारी पाएका छन् । सो वडामा गणेशकुमारी चौधरी, शिवकुमारी चौधरी, गौरी चौधरी, विनिता चौधरी र उजलीदेवी कामी भलमन्सा बनेका छन् । धनगढी उपमहानगरपालिका –११ बासखेराका गाउँवासीले गीता चौधरीलाई यसवर्ष पनि भलमन्साको रुपमा निरन्तरता दिएका छन् ।

स्थानीय स्तरमा महिला नेतृत्वप्रति विश्वास बढ्दै गइरहेको यसअघि पनि भलमन्साको रुपमा काम गरिसक्नुभएकी कैलारी गाउँपालिका –४ कान्छीटोलकी भलमन्सा गौरी चौधरीले बताउनुभयो ।

भलमन्साले गाउँघरमा विकास निर्माण, कुलापानीको जनश्रमदानको कामदेखि भोजभतेरमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नेगरेका छन् । यसैगरी, गाउँघरमा भएको सामान्य झैझगडा मिलाउने काम पनि गर्दैआएका छन् ।
गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया