थारु आयोगले बुझायो बागमती प्रदेश प्रमुख शर्मालाई वार्षिक प्रतिवेदन


हमार पहुरा डट कम
हेटौंडा, माघ १८ गते । थारु आयोगले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगले हरेक प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउनेक्रममा आयोगका सदस्य शान्ति मोदीको नेतृत्वमा गएको टोलीले सो प्रतिवेदन बुझाएको हो ।

आयोगको प्रतिवेदन बुझ्दै प्रमुख शर्माले थारु समुदाय तराईको प्रमुख जाती समुदाय रहेकाले राज्यले थारुको मागमा गम्भीर बन्नुपर्ने बताउनुभयो । थारु समुदाय आफै सक्षम बन्न पनि आवश्यक रहेकाले त्यसका लागि प्रयास जारी राख्न उहाँले सुझाव दिनुभयो । प्रदेश सरकारको तर्फबाट हुने साथ सहयोगका लागि आफू तयार रहेको उहाँको भनाइ छ ।

आयोगले सो अवसरमा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपाललाई पनि सो पाँचौ वार्षिक प्रतिवेदन बुझाएको आयोगका सदस्य मोदीले जानकारी दिनुभयो । थारुको थर सूचीकरणसहितको प्रतिवेदन कार्यान्वयनको माग गरिएको उहाँले जानकारी दिनुभयो ।

आयोगका सदस्य मोदीसँगै कर्मचारीहरु अन्जु सिंह, साधना ओली लगायतको सहभागिता रहेको थियो । आयोगले यस वर्ष संघीय सरकारसहित सबै प्रदेशका प्रमुखहरुलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।

तपाईको प्रतिक्रिया