हमार पहुरा डट कम
धनगढी, फागुन ५ गते । चुल्होमा दनदनी आगो बलिरहँदा सनम (सखी) हरु भात पकाउन, भाँडा धुन व्यस्त हुनुहुन्थ्यो । उहाँहरुलाई काममा सघाउन थपिनुभयो, पानफूलाहरु । दुना–टपरी गाँस्ने, तरकारी केलाउने काममा उहाँहरु कस्सिनुभयो ।
कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँस्थित थारु बस्तीमा महिलाले सामूहिक काम गरिरहेको दृश्य हो, यो । सनम युवतीसहित तन्नेरी महिलाको साथी समूह हो । एक अर्कालाई नामले बोलाउनुभन्दा कामकाज गर्ने बेलामा सनम भनेर बोलाउन उहाँहरुले सनम साथी समूह बनाउनुभएको छ । थारु समुदायमा यस कामलाई ‘सखी–गोही मिलैना’ भनिन्छ ।
यसैगरी, पानफूला भने अलि अधवैसे महिलाको साथी समूह हो । सनम र पानफूला यी दुवै समूहमा आबद्ध महिला सामूहिक काममा क्रियाशील छ । “सामूहिक रुपमा कुनै पनि काम गर्दा रमाइलो लाग्नुका साथै चाँडै काम सफल हुन्छ” धनगढी उपमहानगरपालिका –१६ भादाकी द्रोपतिदेवी चौधरीले भन्नुभयो, “गाउँघरमा हामी महिला यसरी नै काम गर्दैआएका छौं ।”
थारु समुदायमा महिलाबिच गोही मिलाउने अभ्यास पहिलेदेखि नै चलनचल्तीमा रहेको छ । गाउँघरमा कुनै सार्वजनिक काम, भोजभतेरमा सखी समूहका महिलाले सामूहिक खाना पकाउनेदेखि लिएर सरसफाइ, लिपपोत, नाचगान लगायतका काम गर्ने गरेका छन् ।
गाउँघरमा कुनै सार्वजनिक काम, भोजभतेरमा सखी समूहका महिलाले सामूहिक खाना पकाउनेदेखि लिएर सरसफाइ, लिपपोत, नाचगान लगायतका काम गर्ने गरेका छन् ।
समूहमा कोही सासु, कोही बुहारी वा उमेरले ठुला–साना पनि रहने गरेकाले नामले बोलाउँदा अप्ठ्यारो पर्ने कारणले गोही मिलाउने गरेको स्थानीय पार्वती चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सनम वा पानफूला भनेर बोलाएमा सजिलो हुन्छ । साथै, सबैप्रति समान आदर सम्मान पनि देखिने गर्छ ।”
थारु होमस्टे गाउँ भादामा पाहुना आउने–जानेसहित विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । त्यस्ता, कार्यक्रममा पाहुनालाई स्वागत गर्ने, खुवाउने, मौलिक थारु नृत्य देखाएर मनोरञ्जन गराउने अभिभारा महिलाको काँधमा छ । जुन, काम यही सनम र पानफूला सखी समूहका महिलाले गरिरहेका छन् ।
एक हप्तामा तीन–चार दिन सामूहिक काममा बिताउने गरेको द्रोपतिले बताउनुभयो । “भादामा हरेक वर्ष लाग्ने थारु होमस्टे महोत्सव पनि हामी महिलाकै सामूहिक कार्यबाट सफल बन्ने गरेको छ” उहाँले भन्नुभयो । “समूहका २७–२८ जना यसरी काममा खटेकै हुन्छौं ।”
सामूहिक रुपमा काम गरेर महिलाले आम्दानी गरिरहेका छन् । उनीहरुले काम गरेवापत निश्चित शुल्क लिने गरेका छन् । यसैगरी, नाचगान देखाएर पनि आम्दानी हुने गरेको छ ।
गोरखापत्र अनलाइनबाट