दुध उत्पादक कृषकको माग सम्बोधन गर्न सांसद चौधरीको आग्रह


हमार पहुरा डट कम
काठमाडौं, फागुन ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले दुध उत्पादक कृषकको समस्या समाधान गर्न संसदीय समितिमार्फत सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसमक्ष पाँचबुँदे मागसहित पहलका लागि आज उहाँले आग्रह गर्नुभएको हो । समितिका उपसचिव शिवदत्त बरालमार्फत मागपत्र पेश गर्दै उहाँले दुध उत्पादक कृषकको समस्या तत्काल समाधानका लागि पहल लिन आग्रह गर्नुभएको छ ।

सांसद चौधरीले दुग्ध व्यवसायमा संलग्न कृषकको समस्या समाधान गरी यहाँ उत्पादित दुधको खपतको व्यवस्था गर्न माग गर्नुभएको छ । बाहिरबाट आउने दुधले नेपाली कृषकको दुध विक्री नभएको र दुग्ध व्यवसायमा लागेका कृषकले समयमा भुक्तानी नपाउँदा समस्या आएकाले त्यसको व्यवस्थापन गर्न उहाँले माग गर्नुभएको छ ।

देशमै उत्पादित दुधले बजार नपाउनु दुःखद हो भन्दै सांसद चौधरीले दुध उत्पादक कृषकको दुध विक्री नहुँदा सडकमा फाल्नुपरेका घटना विगतदेखि कायम रहेकाले त्यसको समाधानका लागि पहल लिन आग्रह गर्नुभएको छ । समितिका सभापति डा. आरजु राणा देउवालाई सम्बोधन गरी उहाँले पाँच बुँदे मागपत्र समितिमा पेश गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया