बेहडाबाबा मन्दिरमा दुई करोड पच्चीस लाख थान दीप प्रज्ज्वलित गरिंदै


हमार पहुरा डट कम
धनगढी, फागुन १२ गते । कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा (शिवजी) को मन्दिरमा दुई करोड २५ लाख थान दीप प्रज्ज्वलित गरिने भएको छ ।

फागुन २५ गते महाशिवरात्रीको दिन सो दीप प्रज्ज्वलित गरिने बेहडाबाबा फाउण्डेशनले जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी संस्थाले सो जानकारी दिएको हो । शिवरात्रीको दिन दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म दुई सय जनाबाट दीप प्रज्ज्वलनको व्यवस्था मिलाएको फाउण्डेशनका अध्यक्ष पदमराज जोशीले बताउनुभयो ।

यसैगरी, शिवरात्रीको अवसरमा लाग्ने मेलाको करिब तीन लाख श्रद्धालुले अवलोकन गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । फाउण्डेशन मेलाको तयारीमा जुटेको जनाएको छ ।

धनगढी उपमहानगरपालिका –१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा भारतीय दर्शनार्थीको पनि घुँइचो लाग्ने गर्छ । गङ्गा दशहराको दिन हजारौं भारतीय यहाँ आएर बेहडाबाबा मन्दिरमा पूजा अर्चना गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया