रामपुरको बेहडाबाबा मन्दिरमा आकाशबाट पहिलो पटक पुष्प वर्षा


हमार पहुरा डट कम
धनगढी, फागुन २५ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा आज आकाशबाट पुष्प वर्षा गरिएको छ । शिवरात्रीको अवसरमा हेलिकोप्टर प्रयोग गरेर आकाशबाट पुष्प वर्षा गरिएको हो ।

बहेडाबाबाप्रति श्रद्धालुहरुको आकर्षण अझ बढाउन एवम् प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरको प्रयोग गरेर आकाशबाट फूल वर्षा गरेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

लाखौं श्रद्धालुहरुको उपस्थितिको क्रममा बेहडाबाबामा पहिलो पटक हेलिकोप्टरबाट पुष्प वर्षा गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । उहाँका अनुसार विहान ११ देखि चार पटक हेलिकोप्टरबाट पुष्प वर्षा गराइएको छ ।

११ लाख रुपियाँ भाडामा हेलिकोप्टर लिएर दुई लाख रुपियाँको फूल आकाशबाट वर्षा गरिएको उहाँले बताउनुभयो । दिउँसोसम्म करिब सात लाख श्रद्धालुहरुले बेहडाबाबा मन्दिरमा पूजाआजा गरेको समितिको दाबी छ । श्रद्धालुहरुको भीड व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, धनगढी उपमहानगरपालिकाका नगर प्रहरी र दुईसय जना स्वयम्सेवक खटाइएका छन् ।

धनगढी उपमहानगरपालिका –१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशस्थित विभिन्न ठाउँबाट पनि हजारौं दर्शनार्थी आउनेगरेका छन् । बेहडाबाबा मन्दिरमा आज अपरान्ह साढे दुई करोड दीप प्रज्ज्वलन गरिने अध्यक्ष जोशीले बताउनुभयो । शिव भगवानको प्रख्यात मन्दिरको रुपमा बेहडाबाबालाई लिने गरिन्छ । यहाँ दर्शन गर्ने भक्तजनको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया