मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा लेखीलाई


हमार पहुरा डट कम
जनकपुरधाम, चैत १० गते । नेकपा (एमाले) मधेश प्रदेश सरकारमा सहभागी भएको छ । सो सरकारको गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारीमा राजकुमार लेखी आउनुभएको छ ।

पद तथा गोपनीयताको सपथलगत्तै शनिबार पदभार ग्रहण गर्नेक्रममा उहाँले मधेसको शान्ति सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रतामा धयान दिने बताउनुभयो । उहाँले नागरिकको सुरक्षा, सूचनाको हक, सञ्चार क्षेत्रमा रहेका समस्याको समाधान गरी कानुन निर्माणमा आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सञ्चार क्षेत्रमा देखिएका विभिन्न खालका समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको भन्दै मन्त्रालयले पत्रकारमैत्री भएर काम गर्ने उहाँले बताउनुभयो । मधेश प्रदेशमा बाढी पहिरो, शितलहरजस्ता दैवीप्रकोपको उच्चजोखिम रहेको भन्दै दैवीप्रकोपबाट हुनसक्ने क्षति हुन नदिन प्रदेश सरकारले पूर्वतयारी थाल्ने बताउनुभयो ।

मन्त्री लेखीलाई मधेश प्रदेश सरकारमा गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम खरेलले मन्त्रालयमा स्वागत गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री लेखीले मधेश प्रदेशमा सूचनाको हकको पूर्ण कार्यान्वयन गराउने निर्णय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया