देउथान (ग्रामथान) संरक्षणमा बजेट विनियोजन गर्न सांसद चौधरीको माग


हमार पहुरा डट कम
काठमाडौं, चैत १९ गते । प्रतिनिधिसभाका सांसद तथा रास्वपाका नेता अशोककुमार चौधरीले थारु समुदायको देउथान (ग्रामथान), डिउहार तथा बसघराको संरक्षण प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्नुभएको छ ।

आज संसद बैठकको शुन्य समयमा बोल्नुहुँदै उहाँले थारु समुदायको पहिचान झल्काउने यी मूर्त तथा अमूर्त संस्कृतिको प्रवर्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्नुभएको हो ।

थारु समुदायको परम्परागत पहिचान, भाषा, कला र संस्कार संस्केति राज्यको सम्पत्ति भएकाले यसको प्रवर्धन गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ छ । थारु समुदाय सीमा रक्षार्थ तराईमा रहेका देशकै चौथो बहुल जनसंख्या भएको चर्चा गर्दै भूमिपुत्र थारु समुदायको यथोचित विकास विना समग्र नेपालको विकास सम्भव नहुने उहाँको बुझाइ छ ।

आगामी बजेटमा थारु समुदायको संस्का, संस्कृति, प्रथा परम्पराको संरक्षण तथा प्रवर्धनमा बजेट व्यवस्था गर्न उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । थारु समुदायलाई सामाजिक न्याय र अधिकारको उपभोग गरेको अनुभूति गराउन थारू बरघर ऐन ल्याउन पनि उहाँले सरकारसाग माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया