संघीय शिक्षा ऐन तत्काल आउनुपर्छ : महिलामन्त्री चौधरी


हमार पहुरा डट कम
काठमाडौँ, वैशाख २९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ ।

एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाइ अपनाउन आग्रह गर्नुभयो । संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाइ बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो ।

संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक फरक व्यवस्था गर्न पाउने व्यवस्था छ, उहाँले भन्नुभयो, ुराज्यको संरचनाअनुसार तीनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्छ । पाठ्यक्रमहरू पनि जीवनउपयोगी, अहिलेको टेक्नोलोजीअनुसार हुनुपर्छ । विद्यालय, माध्यमिक विद्यालय स्थानीय तहमै हुने भएकोले केही अधिकार स्थानीय तहमै गएको छ । बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ, उहाँले भन्नुभयो ।

शिक्षण सिकाइ अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उहाँले बताउनुभयो । शिक्षण सिकाइ बालबालिका केन्द्रित हुनुपर्छ । पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ । त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ उहाँले भन्नुभयो ।

सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उहाँले विद्यालयमा राजनीतिकरण भएका कारण पनि समस्या उत्पन्न भएको हुनसक्ने बताउनुभयो ।

बच्चालाई राम्रो शिक्षा दिलाउन शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उहाँले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको मन्त्री चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले बच्चाहरू पनि विभिन्न माध्यमबाट प्रताडित छन् । ती सबै बालबालिकाको संरक्षण गर्दै अगाडि बढ्नुपर्ने छ । हाम्रो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बालअधिकार परिषद्ले यस क्षेत्रमा काम गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया