पत्रकारको क्षमता अभिबृद्धि गर्न रामधुनी नगरपालिकाको सहयोग


हमार पहुरा डट कम
सुनसरी, जेठ १ गते । तालिम तथा प्रशिक्षणमार्फत स्थानीय पत्रकारको क्षमता अभिबृद्धि गर्न रामधुनी नगरपालिका (नपा) ले आर्थिक सहयोग प्रदान गरेको छ ।

आर्थिक वर्ष २०८०–८१ को नियमित कार्यक्रम अन्तर्गत पत्रकारको क्षमता अभिबृद्धि गर्न सानो सहयोग प्रदान गरिएको नगरपालिकाका प्रमुख (मेयर) शंकरलाल चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले प्रदान गर्ने तीन लाख रुपियाँको सहयोगले पत्रकारको क्षमता अभिबृद्धि गर्न तालिम तथा लेखन बृत्तिमा पनि सहयोग पुग्नेछ । सो रकम सानो भए पनि आगामी दिनमा त्यसमा बृद्धि गर्दैजाने उहाँले प्रष्ट पार्नुभयो ।

“नगरपालिकामा धेरै शीर्षकको बजेट हुन्छ, त्यसमध्ये एउटा शीर्षक पत्रकारको क्षमता अभिबृद्धि गर्नका लागि राखिएको छ, यसले आगामी दिनमा पनि निरन्तरता पाउँछ” प्रमुख चौधरीले भन्नुभयो । सीप भएका पत्रकारका लागि राम्रो अवसर रहेको चर्चा गर्नुहुँदै मेयर चौधरीले तालिमबाट स्थानीय पत्रकार लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिमका प्रमुख प्रशिक्षक लक्की चौधरीले पत्रकारको लेखनलाई तिखार्न तालिम अनिवार्य रहेको बताउनुभयो । समाजलाई सचेत गराउने जिम्मेवारीमा रहेका पत्रकार पहिले आफै सचेत बन्न आवश्यक हुने र तालिम तथा प्रशिक्षणले पत्रकारलाई थप जिम्मेवार बनाउने उहाँको भनाइ छ ।

नपाको सहयोगपछि रामधुनी खबर साप्ताहिक पत्रिकाको आयोजनामा स्थानीय पत्रकारका लागि ८ दिने तालिम सुरु भएको छ । वैशाख ३१ बाट सुरु भएको तालिम जेठ ८ सम्म चल्ने छ । नपाबाट प्राप्त सहयोग रकमले तालिमसहित आठ जना पत्रकारलाई लेखन बृत्ति सहयोग गर्ने पत्रिकाका सम्पादक तथा प्रकाशक सुनिल चौधरीले जानकारी दिनुभयो ।

आठ जना पत्रकारलाई जनही ८ हजार रुपियाँका दरले लेखन बृत्ति प्रदान गर्ने तयारी भएको उहाँले बताउनुभयो । तालिमबाट उत्कृष्ट भएका पत्रकार तथा स्थानीय अन्य पत्रकारलाई लेखन बृत्ति प्रदान गरिने उहाँको भनाइ छ । लेखन बृत्तिबाट यहाँको विषय उजागर गर्नमा सहयोग पुग्ने चौधरीले विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय संस्था ग्रामथान संरक्षण समितिको समन्वयमा सुरुभएको तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता छ । तालिमले पत्रकारलाई समाचार लेख्ने सीप सिकाउनुका साथै प्रशिक्षार्थी पत्रकारले सन्तुलित समाचार लेखनबारे जानकार हुने समितिका अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

तालिममा पत्रकार चौधरीले समाचार लेखनको आधारभूत पत्रकारिताबारे प्रशिक्षण दिनुहुनेछ । अर्का पत्रकार भीषण राईले मल्टिमिडियाबारे प्रशिक्षण दिनुहुने आयोजक संस्थाका पदाधिकारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया