जडिबुटीबारे अध्ययन गरी निःशुल्क ज्ञान बाँड्दै रामदिन महतो


कारी महतो
चितवन, जेठ ११ गते । रत्ननगर नगरपालिका ८ बाघमारा निवासी ६६ वर्षीय रामदिन महतोले सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीको औषधीय गुणहरुबारे थारु गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुन बाँड्दै आउनुभएको छ ।

नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारिणी सभा (थाकस) चितवनको सहआयोजनामा जेठ १० देखि १४ सम्मका लागि आयोजना भएको थारु गुरौको विधि तथा जडिबुटीसम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँ अहिले प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको छ । उहाँ पेशाले नेचर गाइड भएता पनि समय परिस्थितिले जडीबुटीतर्फ समेत आकर्षित गरेको बताउनुहुन्छ ।

चालिस वर्षअघि एकदिन उहाँ बिरामी भइ अस्पतालमा चेकजाँचपछि निकै लामो समयसम्म औषधी खाँदा पनि निको नभएपछि थारु गुरौको विधि र जडीबुटीबाट ठीक भएको बताउनुहुन्छ । त्यसैबाट प्रभावित भइ थारु गुरौहरुले प्रयोग गर्ने जडीबुटीहरु पहिचान गर्ने र प्रयोग विधि सिक्ने सोंच बनाएको बताउनुहुन्छ ।

उहाँ नेचर गाइडको रुपमा टाइगर टप्समा काम गर्नेक्रममा बर्दियासम्म पुग्नुभयो । त्यहिंबाट उहाँले जडीबुटीको नामहरु संकलन गर्नुका साथै प्रयोग विधि र मात्राबारे व्यावहारिक अध्ययन सुरु गरेको बताउनुहुन्छ । अहिले उहाँले त्यससम्बन्धी दुईवटा किताब बराबरको पाण्डुलिपि तयार गर्नुभएको छ ।

उहाँले सयौं सामान्य व्यक्तिदेखि सयौं धामी, गुरौ, वैद्यहरुको व्यावहारिक अनुभवलाई संकलन गरेको र ती अधिकांश व्यक्तिहरु अहिले यो संसारबाट विदा लिइ सक्नुभएको बताउनुभयो । ती व्यक्तिहरु थारु गुरौ मात्र नभइ अन्य आदिवासी जनजाति, बाहुन क्षेत्री, दलित, मधेसी, महिला वा पुरुष रहेको उहाँको भनाइ छ ।

जडीबुटीसम्बन्धी ज्ञान हासिल गर्न सजिलो नभएको बताउनुभयो । कुनै एउटै जडिबुटीबारे सिक्न चार वर्ष लागेको तीतो अनुभव सुनाउनुभयो । जानेको व्यक्तिले सजिलै सिकाउन नचाहेको कारणले यति समय लागेको बताउनुभयो । एक पटक एउटै जडिबुटीबारे सिक्नलाई एकजना पाँच हजार नगद दिएर सिकेको बताउनुभयो ।

तर थारु गुरौहरुले भने निःशुल्क सिकाएको बताउनुभयो । उहाँलाई जडीबुटीसम्बन्धी ज्ञानगुन सिकाउने गोठौलीका स्व. परमेश्वर महतो, बस्यौलीका स्व. नवलकिशोर चौधरी, बाघमाराका स्व. सुदर भगत (फौदार), सिसुवारका स्व. अजित महतो, बछुलीका स्व. मागर महतो, झुवानीका स्व. श्रीराम महतो, माडीका स्व. ठागाराम महतो, माडीका किसुन महतो इत्यादि कैयौं गुरौलाई उहाँले स्मरण गर्नुभयो ।

हिजोआज कसैले कुनै रोग वा समस्याबारेमा उहाँलाई सोधपुछ गर्दा उहाँले विना शुल्क परामर्श दिनुहुन्छ । कुन रोगको लागि कुन कुन जडिबुटी कसरी प्रयोग गर्दा फाइदा पुग्छ, यी जानकारी दिनुका साथै त्यो जडिबुटी कहाँ पाइन्छ, आदि जानकारी निःशुल्क दिनुहुन्छ ।

उहाँ आफूले पहिचान गरेका जडिबुटीलाई अहिलेसम्म व्यावसायिक रुपमा प्रयोग नगरेको बताउनुभयो । धेरैजसो जडीबुटी कसराको जंगल र हाम्रै घर वरपर पाइने भएता पनि कुनै कुनै जडिबुटी बर्दियाको जंगलमा मात्र पाइने हुँदा उतैबाट ल्याउनु पर्ने बताउनुभयो ।

विश्वका कतिपय मुलुकले धेरैजसो जडिबुटीको व्यावसायिक खेती गर्न थालेको हुँदा नेपालमा पनि व्यावसायिक रुपमा जडिबुटी खेती गर्नुपर्ने प्रशिक्षक गुरो रामदिन महतो बताउनुहुन्छ । प्रशिक्षण कार्यक्रम थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीको अध्यक्षता तथा थाकसका केन्द्रीय उपाध्याक्ष विष्णुकुमारी चौधरीको प्रमुख आतिथ्यमा जेठ १० गते शुभारम्भ भएको हो ।

जेठ १४ गतेसम्म हुने प्रशिक्षण कार्यक्रममा जल्लु चौधरी, विश्राम महतो, शनिचर पावे, टिकेन्द्र चौधरीलगायत प्रशिक्षक रहनुभएको छ । कार्यक्रमको सहजीकरण थाकस चितवनका सचिव सन्तकुमार चौधरीले गर्नुभएको छ । थाकस चितवन प्रगन्ना नं. ५ बेलोधका सभापति रामनारयण महतोले कार्यक्रम संयोजन तथा व्यवस्थापन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया