थारु समुदायको शक्ति फुटमा होइन, एकतामा छ : महिलामन्त्री चौधरी


हमार पहुरा डट कम
काठमाडौँ, असार १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले थारु समुदायको शक्ति नै थारु एकता भएकाले फुटेर होइन, जुटेर काम गर्न सुझाव दिनुभएको छ ।

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्य समितिको आयोजनामा शनिबार यहाँ आयोजित थारु भाषा र संस्कृति सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

थारु भाषा, संस्कृतिको संरक्षण गर्न थारुको साझा मानक भाषाको आवश्यकता भएको चर्चा गर्नुहुँदै उहाँले मानक बनाउने काम भइरहेको भए पनि छिटो टुङ्गो लगाउन उहाँले आग्रह गर्नुभयो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुन्छ, त्यसपछि राज्य र समाजको दायित्व आउँछ ।”

ठाउँअनुसार थारु शब्दको उच्चारणमा केही भेद रहे पनि साझा मानक बनाएर लेखनमा एकरुपता ल्याउन सकिने उहाँले सुझाउनुभयो । भाषा नै जाती समुदायको पहिचान भएकाले त्यसको संरक्षणमा सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्री चौधरीले भन्नुभयो, ‘भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही भिन्नता छ । तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन सक्छौं, त्यो गर्न जरुरी छ ।’

सोझो र इमान्दार जातिको रूपमा चिनिने थारु जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारहरुले शोषण गरेको उहाँले चर्चा गर्नुभयो । थारुको विकासका लागि भाषा संस्कृतिको उत्थानसँगै आर्थिक गतिविधि पनि बढाउन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन’ मन्त्री चौधरीले भन्नुभयो, “जन्मदेखि मृत्युपछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्छ ।’ त्यस्तै, उहाँले विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोशिस भइरहेको उहाँको भनाइ छ ।

थारु समुदायको शक्ति नै त्यो समुदायको जनसंख्या भएको चर्चा गर्नुहुँदै उहाँले राना थारु समुदायलाई थारुमै फर्कन आग्रह गर्नुभयो । फुटेर कसैको भलाइ नहुने भन्नुहुँदै उहाँले भन्नुभयो, “राना थारु समुदाय अलग सुचिकरण भएको छ, तर अहिले पछुटाइरहेको छ । उहाँहरुलाई थारुमै समाहित हुन म आग्रह गर्छु ।”

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती मगरले थारु समुदायभित्र पनि भाषिक विविधता भएकाले त्यसलाई जोगाएर अघि बढ्न सुझाव दिनुभयो । राना थारु समुदाय अलग सुचीकरण हुनु राम्रो नभएको भन्दै उहाँले विविधता भित्र पनि एकता कायम रहे मात्र सो समुदायको हित हुने उहाँको भनाइ छ । थारु समुदायको परम्परागत ज्ञान, सीप र क्षमतालाई सदुपयोग गरी समाजको उत्थानमा लगाउन उहाँले सुझाव दिनुभयो ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारी कामकाजी भाषा थारु बनाउन भाषा आयोगको सिफारिस अनुसार त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । थारु भाषालाई स्थानीय रुपमा पाठ्यक्रममा राखेर भाषा संरक्षणमा भूमिका खेल्न सकिने उहाँले चर्चा गर्नुभयो । राना थारु समुदाय थारुबाट अलग सूचीकरण भएर स्थानीय तहमा सीमित भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा भाषाविज्ञ डा. रामबहादुर चौधरी र उपप्रध्यापक महेशकुमार चौधरीले ‘थारु भाषा र सांस्कृतिक एकरुपता र विविधता’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो । पूर्वको झापादेखि पश्चिमका कञ्चनपुरसम्मका भाषालाई नमुनाका रुपमा लिई बोली र लेखन एकरुपता विषयमा प्रस्तुती गर्नुभयो । भाषा विज्ञानका अनुसार थारु भाषामा ७० प्रतिशत बढी बोधगम्यता रहेकाले मानक भाषा बनाउनमा समस्या नभएको उहाँहरुको भनाइ छ ।

कार्यक्रममा पत्रकार लक्की चौधरीले कार्यपत्रमाथि टिप्पणी गर्दै भाषा र संस्कृतिक एक अर्काको परिपूरक भएकाले पहिचान जोगाउन भाषा र संस्कृतिको आपरिहार्यता रहेको बताउनुभयो । पश्चिमदेखि पूर्वसम्म तराईमा छरिएर बसोबास गर्दैआएका थारु समुदायको भाषामा उच्चारण केही अन्तर भए पनि करिब ९० प्रतिशत शब्दमा बोधगम्यता रहेको उहाँले दावी गर्नुभयो । भाषा र संस्कृति दुवै मानव निर्मित विषय भएकाले यो परिवर्तनशील भएको उहाँले बताउनुभयो ।

थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य रामप्रकाश चौधरी, अशोककुमार चौधरी, थाकस केन्द्रीय सदस्य नेमनारायण सिंह थारु, नेपाल आदिबासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछतनारायण चौधरी, थारु अगुवाहरु सीयाराम चौधरी, भुलाई चौधरी, बुद्धसेन चौधरी, सुमन चौधरी, महेश्वरप्रसाद चौधरी, सुशीला चौधरी लगायतले धारणा राख्नुभएको थियो ।

त्यस्तै, कार्यक्रममा समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाल माझी थारु, थारु आयोगका सदस्य डा. उमाशंकर चौधरी, सुवोधसिंह थारु, भोलाराम चौधरी, विद्यार्थी नेता चन्द्रकुमार चौधरी, थारु नेतृहरु तारा चौधरी, गुञ्जा चौधरी, थारु सेवा समाजका अध्यक्ष विद्यानन्द चौधरी, उपेन्द्र चौधरी लगायतले कार्यपत्रमाथि सुझाव दिनुभएको थियो ।

जनगणना २०७८ अनुसार थारु समुदायको जनसंख्या १८ लाख ७ हजार १२४ रहेको छ । अलग सूचीकरण भएको राना थारु समुदायको जनसंख्या ८२ हजार देखाएको छ । थारु र राना थारु समुदायलाई पुनः एकता गर्ने प्रयास भइरहेको थारु आयोगका सदस्यहरुले बताउनुभएको छ ।
गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया