गंगा दशहराको अवसरमा बेहडाबाबा मन्दिरमा दर्शनार्थीको लाग्यो घुइँचो


हमार पहुरा डट कम
धनगढी, असार २ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज विहानैदेखि घुइँचो लागेको छ ।

जेष्ठ शुक्ल दशमी गंगा दशहराका अवसरमा पूजाआजा गर्ने दर्शनार्थीको आज भिडभाड लागेको हो । यस अवसरमा बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहरा मेला पनि लागेको छ । मन्दिरमा पूजाआजा गर्ने र मेला भर्नेको घुइँचो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालीसहित भारतीय दर्शनार्थी भक्तजन पूजाआजाका लागि आउनेक्रम जारी छ । प्रसिद्ध यस मन्दिरको दर्शन र पूजाआजाका लागि नेपाल, भारत दुवै देशका श्रद्धालुहरु आउने गरेका छन् ।

बेहडाबाबामा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालमा भक्तजनको भिड हुने गर्दछ । यसैगरी, साउन महिनाको सबै सोमबार भक्तजन आउने गरेको समितिका अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

बेहडाबाबाको महिमा
भारतको उत्तर प्रदेशस्थित गोला स्थानका ग्वालाले बेहडाबाबाको पत्ता लगाएको विश्वास गरिन्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीका अनुसार राणाकालीन समयमा कैलालीको डमौलिया र धुरजन्ना क्षेत्रमा गोलाका ग्वाला गाईगोरु चराउन आएका थिए ।

तीमध्ये एक ग्वालाको गाईले बच्चा जन्माए पनि घरमा दुध दिने गरेको थिएन । गाईले दुध नदिने गरेको रहस्य खोज्दै जाँदा गाईले हालको बेहडाबाबामा रहेको शिव लिङ्गमा आफ्नो दुध खसाउने गरेको तथ्य भेटियो । पछि ग्वालाले फुटाएर शिलालाई भारत लग्न खोज्दा सकेनन् । लिङ्गबाट रगत आएको देखिएपछि त्यहिँ छाडेर पूजापाठ सुरु गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताउनुभयो ।

“उनीहरुले लिङ्ग नजिकबाट सानो ढुङ्गा लगेर गोलामा सानो मन्दिर बाएका छन्”, उहाँले भन्नभयो, “त्यहाँ बनाइएको मन्दिर पनि बेहडाबाबा नै हो ।” ग्वालाहरुको गाईको बथानलाई त्यतिबेला ‘बेहडा’ भन्ने गर्दथे । यसै नामबाट पछि मन्दिरको नाम बेहडाबाबा रहन गएको हो । भारतका ग्वालाले बेहडाबाबा पत्ता लगाएका कारण यसप्रति उनीहरुको धेरै श्रद्धा रहेको र बर्सेनी पूजाअर्चना गर्न आउने गरेको जोशीले बताउनुभयो ।

बेहडाबाबालाई धनगढी उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दैआएको छ । यसमा भौतिक संरचना थपिनेक्रम जारी रहेको छ । जलाशयमा स्थान गरी चोखो मनले बेहडाबाबाको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास भक्तजनको रहँदैआएको छ । गंगा दशहरामा बेहडाबाबा मन्दिर परिसरमा पाँच दिन मेला लाग्ने गर्छ । बेहडाबाबा मन्दिर धनगढी बजारदेखि करिब १२ किलोमिटर पूर्वमा पर्छ ।

तपाईको प्रतिक्रिया