एसइईमा विद्यार्थी अनुत्तीर्ण भएपछि प्रअसहित पदाधिकारीको राजीनामा माग


हमार पहुरा डट कम
धनगढी, साउन १३ गते । एसइईमा सबै विद्यार्थी अनुत्तीर्ण भएपछि कैलारी गाउँपालिका –७ भुइयाँफाँटा कैलालीका स्थानीयले गाउँमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् ।

२०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी सो विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण (नन ग्रेडिङ) भएपछि स्थानीयले प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक सङ्घका पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

सो गाउँको आज बसेको बैठकमा ३५८ जना अभिभावकले नतिजाप्रति आपत्ति जनाउँदै नैतिकताका आधारमा प्रधानाध्यापकसहित पदाधिकारीले राजीनामा दिनु पर्ने निर्णय गरेका छन् । सो विद्यालयबाट ४४ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । जसमध्ये कोही पनि उत्तीर्ण भएनन् ।

यसैगरी, अभिभावक भेलाले विद्यालयको गत आर्थिक वर्षको उल्लेख नभएको हरहिसाब फर्छ्यौट गरी सार्वजनिक गर्नुपर्ने माग पनि राखेको छ । हरहिसाब गाउँ समाजबाट अनुमोदन गराई एक हप्ताभित्र सार्वजनिक गर्नुपर्ने भेलाले निर्णय गरेको छ। गाउँको भलमन्सा फिरुराम चौधरीको अध्यक्षतामा अभिभावक भेला बसेको थियो ।

तपाईको प्रतिक्रिया