थारू समुदायमा आज धुमधाम अष्टिम्की पर्व मनाइँदै


हमार पहुरा डट कम
धनगढी, भदौ १० गते । थारू समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्णजन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ । यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरु दिनभरी पानीसमेत नखाइ निराहार व्रत बस्ने गरेको जनाइएको छ । व्रतालुहरु साँझपख नुहाइ–धुवाइ गरी घरको भित्ता वा डेहरी (अन्न राख्ने माटोको भकारी) मा परम्परागत तरिकाले बनाइएको अष्टिम्कीमा पूजासहित टीका लगाएर फलफूल, पानी खाने गरिन्छ । यसलाई अष्टिम्की टिक्ना भनिन्छ ।

पर्वको दोस्रो दिन व्रतालुले नदी खोलामा गएर सामूहिक रुपमा अष्टिम्की सेलाउने गर्छन् । अष्टिम्की सेलाएपछि मात्र पूजाआजा गरेर उनीहरुले भातसहित खरिया, फुलौरीलगायत विभिन्न परिकार खाने गरेका छन् । यसलाई फल्हार भन्ने गरिएको थारू अगुवाहरुको भनाइ छ । फल्हारको दिन व्रतालुले खानाका सबै परिकार एक भाग निकालेर मात्र खाने गर्छन् ।

यसरी निकालेर राखेको भागलाई उपहारको रुपमा आफ्नो विवाहित छोरीचेलीलाई अग्रासन (उपहार) को रुपमा दिने चलन छ । माइती पक्षको अग्रासन पाएपछि विवाहित छोरीचेली खुशी हुनेगरेको बताइन्छ ।

विवाहित महिलाले आफ्नो पतिको दीर्घायु र अविवाहितले राम्रो पति पाउनका लागि अष्टिम्कीको व्रत बस्ने गरेको कैलारी गाउँपालिका –५ की कविता चौधरीले बताउनुभयो । अष्टिम्कीको व्रत बसेमा मनोकामना पूरा हुने जनविश्वास रहेको उहाँले बताउनुभयो । यसैविच काठमाडौं उपत्यकामा काम विशेषले बसोबास गर्ने थारू समुदायले पनि परम्परागत रुपमा अस्टिम्की मनाउँदैछन् ।

तपाईको प्रतिक्रिया