संशोधनको विरोधगर्दै फोरमले भन्यो – ‘नाकाबन्दी झन चर्किन्छ’


cc meeting

काठमाडौं, माघ १० गते । संघीय समाजवादी फोरम, नेपालले जारी सीमानाका अवरोध र आन्दोलनलाई झन् सशक्त बनाउने निर्णय गरेको   छ ।

सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले त्यस्तो निर्णय गरेको पार्टीले जानकारी गराएको छ । आन्दोलनलाई राष्ट्रियस्वरुप दिन र काठमाडौ केन्द्रीत आन्दोलन चर्काउन विभिन्न पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्ने निर्णय भएको फोरम नेपालक अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

बैठकपछि अध्यक्ष यादवले वार्ता मार्फत् समाधानका लागि आफूहरु हदैसम्मको लचक र गम्भीर भएपनि सरकारले वार्तामा गम्भीर नदेखिएकोले जारी आन्दोलनलाई निर्णायक बनाउन आन्दोलन थप सशक्त पार्ने निर्णय भएको बताउनुभयो ।

सरकारले संशोधन गरेको प्रक्रिया र अन्तर्वस्तुलाई बैठकले अस्वीकार गरेको सो पार्टीले बताएको छ । ‘नयाँ संविधान जस्तै सरकारले संशोधन पनि एकलौटी, जबरजस्ती र मनपरी ढंगले गरेको छ’, बैठक पछि अध्यक्ष यादवले भन्नुभयो, ‘नयाँ संशोधनले मधेश आन्दोलनलाई सम्बोधन गर्न सक्दैन ।’

मनपरी ढंगले संविधान संशोधन भएकोले केन्द्रीय बैठकले जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको यादवले बताउनु भयो । मोरंगको रंगेली लगायत विभिन्न स्थानमा जबरजस्ती कार्यक्रम आयोजन गर्न लगाएर सरकारले साम्प्रदायिकता मच्चाउन खोजेको आरोप सो पार्टीको छ । आन्दोलनका क्रममा लगाइएका सबै झूठा मुद्दा तत्काल खारेज गर्न पनि बैठकले माग गरेको छ ।

तपाईको प्रतिक्रिया