हमार पहुरा डट कम
धादिङ, असोज १२ गते । पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुई वटा बसबाट १४ शव निकालिएको छ ।काठमाडौँ र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको हो ।
लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट पाँच वटा र अर्को नम्बर नखुलेको बसबाट नौ जना गरी जम्मा १४ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
शव हाल घटनास्थलमा राखिएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । शनिबार बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएको थियो ।
देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबीसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन खण्ड क्षतविक्षत छ ।
गोरखापत्र अनलाइनबाट