थारू र माझी महिलालाई स्वरोजगार बनाउन च्याउ खेती तालिम


हमार पहुरा डट कम
सुनसरी, असोज २५ गते । रामधुनी नगरपालिका ४ इक्राई गाउँका महिलालाई च्याउ उत्पादन गर्ने तालिम दिइएको छ । गाउँका महिलालाई घरमै बसेर स्वरोजगार बनाउने उद्देश्यले च्याउ खेती प्रविधि तालिम दिइएको हो ।

युएनडिपि, साना अनुदान कार्यक्रम र विश्व वातावरण कोसको आर्थिक सहयोगमा स्थानीय संस्था मानव विकास तथा वातावरण संरक्षण मञ्चको सहजीकरणमा तालिम दिएको छ ।

गाउँमा घरबास आवास सञ्चालन आइसँगै इक्राई गाउँका होमस्टेमा प्रयोग गर्ने गरी च्याउ उत्पादन गर्नका लागि गाउँका १५ जना महिलालाई तालिम दिइएको छ । थारु समुदाय र माझी समुदायको बाहुल्यता रहेको गाउँमा होमस्टे सञ्चालन भएसँगै आवश्यक कृषिउपजहरु उत्पादन गर्न महिलालाई तालिम दिइएको बताइएको छ ।

तीन दिने च्याउ उत्पादन प्रविधि तालिम दिइएको संस्थाका कार्यक्रम संयोजक टीका चौलागाईले बताउनुभयो । च्याउ खेती सहजैसँग घरमै उत्पादन गर्न सकिने भएकाले र च्याउको तरकारी ताजा र स्वादिस्ट परिकारीका रुपमा रहने हुँदा घरबास लक्षित तालिम गरेको उहाँले बताउनुभयो ।

घरबासका लागि आर्गनिक तरकारी उत्पादन गर्नुपर्ने हुँदा स्थानीय कृषकहरुलाई आर्गनिक तरकारी खेती तालिमसमेत दिइसकेको छ । थारु र माझी समुदायको कला संस्कृति र स्थानीय घरेलु उत्पान यहाँको आकर्षण हुने जनाइएको छ ।

होमस्टे सञ्चालन सम्बन्धी समुदायमा पूर्व तयारी शिक्षा पाइसकेका महिलालाई लक्षित गरेर कार्यक्रम गरिएको जनाइएको छ । यसअघि नै पर्यटन कार्यालय धरानको आयोजना र स्थानीय संस्था मानव विकास तथा वातावरण संरक्षण मञ्चको संयोजकत्वमा होमस्टेसम्बन्धी शिक्षा प्रदान गरिएको थियो ।

१५० घरधुरी रहेको गाउँमा होमस्टे सञ्चानलनमा आएसँगै घरबासमा आउने पर्यटकका लागि ताजा तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम दिइएको छ । यसले पर्यटन प्रवर्धनको विकास, कला र संस्कृतिको विकाससँगै स्थानीयको आय आर्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
स्थानीय उत्पादनलाई नै होमस्टेको पहिचान बनाउने लक्ष्य राखेर ताजा तरकारी उत्पादनमा स्थानीयहरु लागिपरेको रामकुमार चौधरीले बताउनुभयो । अहिले १५ घरबाट घरबास सञ्चान भइसकेको छ । धार्मिक पर्यटनको महत्व बोकेको रामधुनीनजिक सञ्चालन हुने होमस्टे धार्मिक पर्यटनको लागि समेत आर्कषक बन्ने अपेक्षा गरिएको छ ।
गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया