
काठमाडौं, माघ ११ गते । थारु कल्याणकारिणी सभाको आयोजनामा सिराहाको लहानमा हुने केन्द्रीय प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको सभाको प्रशिक्षण विभागले जानकारी गराएको छ ।
यही माघ २३, २४ र २५ गते लहानमा हुने प्रशिक्षण कार्यक्रममा देशभरबाट एकहजार प्रतिनिधिको सहभागीता रहने केन्द्रीय प्रशिक्षण विभागका संयोजक राजकुमार लेखीले जानकारी दिनुभयो ।
प्रतिनिधिहरुका लागि लहानस्थित लक्ष्मी गेस्ट हाउस, सपना गेस्ट हाउस, अतिथि सदन, मारवाडी सेवा समिति, रौनियार सेवा समिति, सिम्रिक होटेलमा बासस्थानको व्यस्था मिलाइएको आयोजकले बताएको छ।
त्यस्तै सहभागीहरुका लागि पाँच छाक खाना र नास्ताको पनि व्यस्था आयोजकले गरेको छ। सो बापत हरेक प्रतिनिधिबाट सहभागीता बापत दुईसय रुपिया शुल्क आयोजकले तोकेको छ ।
थारु कल्याणकारिणी सभाको केन्द्रीय समिति, विदेश शाखा, भातृ संगठन र भारतबाट पनि प्रतिनिधिहरु सहभागी हुने केन्द्रीय प्रशिक्षण विभाग प्रमुख लेखीले जानकारी दिनुभयो ।
कार्यक्रम आयोजना गर्न करिब ११ लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान गरेको छ । कार्यक्रमका लागि खर्चको व्यवस्था भइसकेको लेखीले बताउनुभयो । सो रकम चन्दा र प्रतिनिधिहरुबाट उठाइने शुल्कबाट व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
सहभागी हुने प्रतिनिधिहरुको नामावली माघ १५ गतेभित्र बुझाउन जिल्ला सभापतिहरुलाई आयोजकले आग्रह गरेको छ। कार्यक्रममा डा. कृष्ण भट्टचन, कृष्ण हाछेथु, शंकर लिम्बु लगायतले प्रशिक्षण दिने आयोजकले बताएको छ ।





