हमार पहुरा डट कम
धनगढी, मङ्सिर १४ गते । थारु समुदायमा लवाङ्गी पूजाको महत्व धेरै छ । यो पूजा गरेर मात्र नयाँ धानको चामलले पाकेको भात खाने चलन रहेको छ । घरको देवतालाई पूजागरी नयाँ धान चढाउने काम नै लवाङ्गी पूजा हो ।
धानबाली भित्र्याइ सकेपछि प्रत्येक थारु गाउँमा यो पूजा गर्ने गरिन्छ । बाली वा अन्न पूजाको रुपमा लवाङ्गी पूजा गरेपछि नयाँ धानको भात खाने गरेको कैलारी गाउँपालिका –७ छटकपुर बसन्ता गाउँका भलमन्सा जीयाराम चौधरीले बताउनुभयो । उहाँले सोही चलनअनुरुप आफ्नो गाउँवासीले लवाङ्गी पूजा गरेको जानकारी दिनुभयो ।
यसैगरी, लवाङ्गी पूजाकै दिन गाउँका १९२ परिवारले भजहर पर्व पनि मनाएका छन् । भजहर पनि एक किसिमको पूजा कार्यक्रम हो । आपत्विपत्बाट जोगिनका लागि भजहर मनाउने गरेको गाउँका देशबन्धिया गुरुवा दुर्गाप्रसाद चौधरीले बताउनुभयो । भजहर गाउँभन्दा केही पर वन क्षेत्र वा चउरमा गएर मनाउने गरिन्छ । भजहरमा गाउँभरिकै मानिसले एक छाक खाना घरभन्दा बाहिर पकाएर बाहिरै खाने चलन रहेको छ ।
लवाङ्गी पूजा र भजहरको अवसरमा परम्परागत नृत्य देखाउनुका साथै कोइली दिदी, छुर, सिक्टीफोरजस्ता पौराणिक खेल खेलेर रमाइलोसमेत गरिएको भलमन्सा चौधरीले बताउनुभयो ।