भाषा संरक्षणका लागि कठरिया थारु समुदायको शब्दकोष प्रकाशन


हमार पहुरा डट कम
घोडाघोडी (कैलाली), मङ्सिर १६ गते । थारु समुदायभित्र पर्ने कठरिया जातिको मातृभाषा संरक्षणका लागि शब्दकोष प्रकाशन भएको छ । मातृभाषा केन्द्र नेपालको सहयोगमा कठरिया समाज नेपालले शब्दकोष प्रकाशनमा ल्याएको हो ।

कठरिया थारु नेपाली अंग्रेजी शब्दकोषको शनिबार बिमोचन भएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत र एसआइएल इन्टरनेशनल संस्थाका सल्लाहकार तथा भाषाविज्ञ डा. नेत्रमणी दुमि राईले संयुक्तरुपमा शब्दकोष बिमोचन गर्नुभयो ।

दुई बर्ष छ महिना लगाएर तयार भएको शब्दकोष थारु, नेपाली र अंग्रेजी भाषामा रहेको छ । मातृभाषा केन्द्र नेपालका निर्देशक सुशील सुब्बाले कठरिया भाषाको शब्दकोष निर्माणलाई तीन फरक फरक दृष्टिकोणले हेरिएको उल्लेख गर्नुभयो ।

उहाँले शब्दकोष निर्माण हुनुभन्दा अघिको अवस्था, निर्माणको अवस्था र निर्माणपछिको अवस्थालाई हेरेर निर्माण गरिएको बताउनुभयो । नेपालमा यसअघि नेपाली थारु, धिमाल, पश्चिम तामाङ भाषामा समेत मातृभाषा केन्द्रले काम गरेको निर्देशक सुब्बाले बताउनुभयो ।

कठरिया समुदायको कला, संस्कृति, रीतिरिवाज, चालचलन, प्रयोग हुने सरसामान, रहनसहन, भेषभुषालाई शब्दकोषमा उल्लेख गरिएको छ । एसआइएल संस्थाका सल्लाहकार एवम् भाषाविद् डा. राईले नेपालमा १२४ र विश्वमा सातहजार १६४ भाषा रहेको जनाउँदै कठरिया भाषाका लागि बनेको शब्दकोषले नेपालमा मात्र नभएर विश्वमा समेत नाम रहने बताउनुभयो ।

शब्दकोष बिमोचन कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख रावतले शब्दकोषले कठरिया समुदायको भाषालाई दस्तावेजीकरण गर्न सहयोग पुगेको बताउनुभयो । नगरप्रमुख रावतले स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको जनाउनदै स्थानीय पाठ्यपुस्तक बनाउन शब्दकोषले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा कठरिया समुदायको झाँकीसमेत प्रस्तुत गरिएको थियो । कैलाली लगायत अन्य जिल्लामा बसोबास रहेको कठरिया समुदायको करिब ४५ हजार जनसंख्या रहेको शब्दकोषमा उल्लेख छ । कठरिया थारु समुदायमा जन्मदेखि मृत्युसम्म आफ्नै फरक संस्कार छ । कठरिया समाज नेपालका अध्यक्ष दुखिराम कठरियाको सभाअध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रमको सञ्चालन टिआर कठरियाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया