फोनिजमा थारू समुदायबाट प्रथम पटक लक्की चौधरीको नेतृत्व


हमार पहुरा डट कम
काठमाडौं, वैशाख १८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय अध्यक्षमा लक्की चौधरी निर्वाचित हुनुभएको छ । थारु समुदायबाट फोनिजको अध्यक्षमा निर्वाचित हुनुभएको उहाँ पहिलो व्यक्ति हुनुभएको छ ।

फोनिजमा यसअघि पाँच जना अध्यक्ष निर्वाचित हुनुभए पनि तराई मधेस क्षेत्रबाट अध्यक्ष हुनुभएको थिएन । चौधरी अध्यक्षमा निर्वाचित हुनु भएपछि सो क्षेत्रको पनि प्रतिनिधित्व भएको हो । यसअघि फोनिजको अध्यक्षहरुमा चन्द्रसिंह कुलुङ (दुई कार्यकाल), घिम घले, मोहनसिंह लामा, डण्ड गुरुङ (दुई कार्यकाल) र गजुरधन राई अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।

अध्यक्षमा निर्वाचित चौधरी गत चैत २९ र ३० गते लुम्बिनीमा सम्पन्न आठौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । गोरखापत्र अनलाइन डट कमका निमित्त सम्पादकको जिम्मेवारीमा रहनुभएका चौधरी करिब तीन दशकदेखि पत्रकारिता पेशामा हुनुहुन्छ । यसअघि उहाँ वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो । चौधरी अध्यक्षमा निर्वाचित भएसँगै थारु समुदायबाट फोनिजको अध्यक्षमा प्रतिनिधित्व भएको छ । फोनिजमा अब अध्यक्षको जिम्मेवारीमा आउने चार जातीय समुदायको प्रतिनिधित्व सुनिश्चित भएको छ । राई, गुरुङ, तामाङ र थारु समुदायको नेतृत्वमा प्रतिनिधित्व फोनिजमा भएको छ ।

फोनिजमा आठ जातीय पत्रकार समुदायको आवद्धता छ । अब बाँकी समुदायका पत्रकारहरुको अध्यक्षता सुनिश्चित गर्नेगरी काम गर्नुपर्ने फोनिजका पूर्व अध्यक्षहरुको सुझाव छ । नेतृत्वमा आउन बाँकी समुदायमा मगर, नेवार, लिम्बु र शेर्पा रहेका छन् ।

नवनिर्वाचित कार्य समितिको पदाधिकारीहरुमा क्रमशः वरिष्ठ उपाध्यक्षमा सरु राना मगर, खुला उपाध्यक्षमा विश्वराज तामाङ, महिला उपाध्यक्षमा अन्जना शिल्पकार, संस्थागत उपाध्यक्षमा अर्जुन जम्नेली राई, अल्पसंख्यक उपाध्यक्षमा यमन राइडोने निर्वाचित हुनुभएको छ ।

त्यस्तै, महासचिवमा समीर बलामी, पाँच सचिवहरुमा क्रमशः खुला सचिवमा मिलन गाहा मगर, सन्दीपकुमार श्रेष्ठ, एमबी आस्था मगर, सचिव संस्थागत सुनिल महर्जन, सचिव महिला माला पालुङवा लिम्बु र सचिव महिलामा मिला दराई निर्वाचित हुनुभएको छ । सोहीअनुसार कोषाध्यक्षमा अर्जुनबहादुर तामाङ, र सहकोषाध्यक्षमा लक्ष्मी स्याङतान निर्वाचित हुनुभएको छ ।

त्यस्तै, प्रदेश १ को इन्चार्जमा राजेन्द्र दुष्ट, मधेस इन्चार्जमा शंकरलाल श्रेष्ठ, बागमती इन्चार्जमा सुरेन्द्रभक्त श्रेष्ठ, गण्डकी इन्चार्जमा रुद्र श्रीस मगर, लुम्बिनी इन्चार्जमा गजेन्द्र गुरु ङ, कर्णाली इन्चार्जमा रत्न सुनुवार र सुदूरपश्चिम इन्चार्जमा रामलखन चौधरी निर्वाचित हुनुभएको छ ।

सोहीअनुसार सदस्यहरुमा अतित योङहाङ, प्रदीपकुमार चौधरी बस्मैत, प्रज्ज्वल श्रेष्ठ, प्रवीण श्रेष्ठ, केशब गुरुङ, अमीर लामा निर्वाचित भएका छन् । त्यस्तै, महिला सदस्यहरुमा विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ बाइवा तामाङ, सुप्रिया राई, भूमिका लिम्बु फियाक र रिया आले निर्वाचित हुनुभएको छ ।

सोहीअनुसार अल्पसंख्यक सदस्यबाट संगीता चेपाङ, प्रितम भुजेल, विदेश शाखाबाट विनोद श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै, लेखा समिति संयोजकमा गजेन्द्र राई र सदस्यमा प्रवीणकुमार गाहा चयन हुनुभएको छ ।

त्यस्तै, संस्थागत सदस्यतर्फ थारु पत्रकार संघ नेपालबाट प्रदीप लेखी, तामाङ पत्रकार संघबाट साहिँला तामाङ, तमु गुरुङ पत्रकार संघबाट दानबहादुर गुरुङ, मगर पत्रकार संघबाट श्याम रानामगर, नेवा राष्ट्रिय दवुबाट सुरजवीर बज्राचार्य चयन हुनुभएको छ ।

लेखा समितिको एकजना महिला सदस्य, अनुशासन समितिको संयोजक र दुई जना सदस्य मनोनित गर्न बाँकी रहेको छ । तीन वर्षे कार्यकालका लागि नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको पहिलो बैठक लुम्बिनीमै सम्पन्न भएको छ । दोस्रो बैठकको तयारी भइरहेको नवनिर्वाचित अध्यक्ष चौधरीले बताउनुभयो ।

६६ जिल्ला शाखा रहेको फोनिजको ८ वटा विदेश शाखा रहेको छ । २०५६ साउन २७ गते तत्कालीन नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनिज) र अहिले फोनिजमा देशभरबाट ५ हजार आदिबासी जनजाति पत्रकार आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया