रसुवामा आएको बाढीमा परेर पाँच जना थारुसहित १८ जना नागरिक बेपत्ता


हमार पहुरा डट कम
रसुवा, असार २४ गते । रसुवाको गोसाइकुण्ड गाउँपालिका –२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ । सोमध्ये पाँच जना थारु रहेका छन् ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक, तीन जना गाडीचालक र अन्य श्रमिक तथा यात्रुहरू रहेका छन्।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली परिचालन छन् । उद्धार कार्य जारी छ। यसैगरी, बेपत्ता भएका प्रहरीहरु इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेका थिए ।

बेपत्ता भएका प्रहरीहरुमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर, प्रहरी जवान लोकेन्द्र बोहोरा रहेका छन् । त्यस्तै बेपत्ता नागरिकहरुमा फुर्वा लामा, गोविन्द मोक्तान, लोकमान तामाङ, जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, नरेन्द्र विक छन् । पाँच जना थारु मजदुरी कामको सिलसिलामा रसुवा पुगेको हुनसक्ने प्रहरीको अनुमान छ । बाढीले गरेको क्षतिको पूर्ण विवरण आइ नसकेकाले अझै धेरै नागरिक हाताहाती भएको हुनसक्ने अनुमान गरिएको छ ।

यस्तै ६ जना चिनियाँ नागरिकहरुमा यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ रहेको प्रहरीले जनाएको छ । चीनको तिब्बति क्षेत्रमा परेको भारी वर्र्षापछि लेन्दी खोलामा ठुलो बाढी आउँदा जनधनको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया