के हो थारू हर्दहवा

संस्कृति परिचय

लक्की चौधरी


‘हर्दहवा’ अथवा ‘हर्दहुवा’ भनेको रोपाइँ सकेर मनाइने एक किसिमको उत्सव हो । हर्दहवा ठेट थारू शब्द हो । ‘हर’ भनेको शरीरको अङ्ग बुझिन्छ । ‘धुवाइ’ भनेको ‘धुनु’, ‘सफा गर्नु’ हो । एक महिनासम्म हिलोमैलो भएर खेतबारीमा रोपाइँको काम सम्पन्न गरेपछि हरधुवाइको काम गरी मनाइने उत्सव, नै हर्दहवा हो । ‘हरधुवाइ’ शब्द बोलीचालीमा अपभ्रंश हुँदै हर्दहवा बनेको हो । नेपाली बृहत शब्दकोषले हर्दहवा भनेको रोपाइँ सकेको खुसियालीमा थारू समुदायले रमाइलोका साथ गर्ने खानपान भनेको छ । अर्को अर्थमा ‘हर’ भनेको हलो हो । बर्खाभरी खेतबारीमा रोपाइँको काम गर्दा हलोभरी माटो, हिलोमैलो टाँसिने हुनाले त्यसको सफाइ गर्नु भनेको हरधुवाई अर्थात् हर्दहवा हो ।

एक महिनासम्म हिलोमैलो भएर खेतबारीमा रोपाइँको काम सम्पन्न गरेपछि हरधुवाइको काम गरी मनाइने उत्सव, नै हर्दहवा हो ।

रोपाइँ सम्पन्न भएको दिन हिलोपानीमा देवर–भाउजु, साली–भेना अर्थात् रोपाहाहरुविच रमाइलोका लागि हिलोपानीसँग रमाइलो गर्नुलाई पनि हर्दहवा भनिन्छ । थारू समुदायमा एउटा बुझाइ छ कि खेत रोप्दारोप्दै एक अर्कासँग हर्दहवा जति खेल्यो पछि धान त्यति राम्रो फलेर आउँछ । झमझम पानी परेका बेला धान रोप्दै हिलोपानीसँगै एक–अर्कासँग शरीरमा हिलोपानी छ्यापेर रमाइलो गर्नुलाई हर्दहवा खेल्नु भनिन्छ । महिना दिनसम्म हिलोमाटोमा काम गरेर रोपाइँ सम्पन्न हुने दिन त्यसै पनि कृषकको मन फुरुङ हुन्छ । त्यही खुसीयालीमा रमाइलो गर्ने प्रचलन थारू समुदायको छ । यसरी खेतमै रोपाइँ सकेको दिनमा रमाइलो गर्नुलाई ‘सेकौनी’ रमाइलो भनिन्छ । यो रमाइलो घर परिवारका सदस्यहरुविच मात्र सीमित हुन्छ ।

हर्दहवा भनेको सामुहिक उत्सव हो । गाउँघरका सबै घरपरिवारले रोपाइँ सम्पन्न गरेपछि सामुहिक रुपमा रमाइलो गर्ने काम हर्दहवा मनाउनु हो । उसो त हर्दहवाको तोकिएको तिथिमिति छैन । रोपाइँको काम सम्पन्न भएपछि गाउँमा एक दिन पारेर सामुहिक रुपमा मनाइन्छ । हर्दहवामा सुंगुर या बंगुरको मासु अनिवार्य हुन्छ । गाउँघरका सबै घरधुरीलाई पुग्नेगरी बंगुरको मासु व्यवस्थापन गरिन्छ । सामुहिकरुपमा बंगुर मारी मासु भाग लगाएर खुसीयाली मनाइने प्रचलन हर्दहवामा हुन्छ । गाउँघरमा रोपाइँको काम चलिरहेको र सम्पन्न गर्ने गाउँका सदस्यले हर्दहवा मनाएर खुशी साटासाट गर्छन् । असारमा सुरु गरेको रोपाइँ प्रायः साउन मसान्तसम्म सम्पन्न हुनेगर्छ । हर्दहवा पनि असार साउन दुवै महिनामा मनाइन्छ ।

हिलोमाटोमा महिना दिनसम्म काम गरेपछि गाउँका सदस्यहरु थकान महशुस गरेका हुन्छन् । त्यही थकान मेट्न रामरमाइलो गरी हर्दहवा मनाउने गर्छन् । हिलो माटोमा महिना दिनसम्म रोपाइँको काम गर्दा शरीर गलेको हुन्छ । शरीरबाट शक्ति क्षिण भएको हुन्छ । शरीरको शक्ति पुनः जगाउन माछा, मासु र मिठो परिकार खाएर शरीरलाई तागतिलो बनाउने काम हर्दहवाले गर्ने गरेको बुझाइ गाउँका अगुवाहरुको छ । हर्दहवामा सुंगुर या बंगुरको मासु बाहेक माछा, घुँघी या सिपीको परिकार, गंगटा र गेडागुडीको परिकार तयार गरी खुसीयाली मनाउने प्रचलन थारु गाउँमा रहेको छ । तागतिलो परिकार खाएर थकित शरीरलाई पुनर्ताजगी ल्याउने काम गर्ने गरिन्छ ।

हिलोमाटोमा महिना दिनसम्म काम गरेपछि गाउँका सदस्यहरु थकान महशुस गरेका हुन्छन् । त्यही थकान मेट्न रामरमाइलो गरी हर्दहवा मनाउने गर्छन् ।

हर्दहवामा विवाहित चेली, फुपुहरुलाई माइतीमा बोलाएर मिठो मसिनो खुवाउने प्रचलन छ । परिवारका सदस्य, गाउँका सदस्य तथा आफन्तहरु सामुहिक रुपमा खानपिन गरी रमाइलो गर्ने गर्छन् । हर्दहवामा झुम्रा, धुम्रा, छोक्रा नाच पनि नाचिन्छ । यसरी रमाइलो गर्दा थकित शरीरमा पुनर्ताजगी आउने बुझाइ गाउँका सदस्यहरुको छ । माछा, मासु, घुँघी, गंगटाको परिकारसँगै जाँर, लोकल दारु पिउने र पाहुनालाई पिलाउने गरिन्छ । हर्दहवा मूलतः रोपाइँ सकेको खुसीयाली मनाउने प्रचलन भएकाले एकापसमा जमेर रमाइलो गर्ने गरिन्छ । यो कुनै पर्व नभएर रोपाइँ सम्पन्न गरी सामुहिक रुपमा गाउँका सदस्यले खुसी मनाउने बहाना मात्र भएको थारू अगुवाहरुको बुझाइ छ ।

तपाईको प्रतिक्रिया