परिवर्तन संस्थागत भएमात्र शहिदप्रति सम्मान: राष्ट्रपति भण्डारी


Vidhya

काठमाडौं, माघ १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहीदहरुको सम्झना गर्नुहुँदै सहीद दिवस २०७२ को अवसरमा सहीदप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

माघ १६ गतेलाई सहीद दिवसकोरुपमा हरेक वर्ष मनाउने प्रचलनअनुसार सो अवसरमा स्मरण गर्दै शान्ति, लोकतन्त्र र अहिलेको अग्रगमन सहीदकै त्यागको परिणाम भएको चर्चा गर्नुभएको हो । राष्ट्रपति भण्डारीले शुक्रबार विज्ञप्ती जारी गर्नुहुँदै भन्नुभएको छ, “अहिलेको सबै उपलब्धी हाम्रा सहीदको त्याग, बलिदानकै परिणाम हो, मुलुकलाई थप समृद्धितर्फ उन्मुख गराउनु आजको हामी सबैको कर्तव्य र दायित्व  हो ।”

“अहिलेको सबै उपलब्धी हाम्रा सहीदको त्याग, बलिदानकै परिणाम हो, मुलुकलाई थप समृद्धितर्फ उन्मुख गराउनु आजको हामी सबैको कर्तव्य र दायित्व  हो ।”

दिवसले हामी सबैलाई राष्ट्रनिर्माणमा स्वतःस्फूर्तरुपले समाहित हुने प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले “देशमा स्थिरता, शान्ति, विकास, अग्रगमन कायम गर्न सकेमा मात्र सहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुनेछ” जारी विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

नयाँ संविधानले सबैको अधिकार सुनिश्चित् गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै बृहत्तर राजनीतिक सहमति र आर्थिक विकासको एजेण्डातर्फ बढ्नु नै अहिलेको प्राथमिकता बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।

SAM_2663

सोहीअनुसार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रजातन्त्रको बहालीका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री लगायत सम्पूर्ण ज्ञात अज्ञात सहीदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

“एकतन्त्रीय जहानियाँ शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाई प्रजातन्त्रको स्थापनार्थ प्राणको आहुती दिनुभएको उहाँहरुको स्मरण आजको दिनमा हामी सबैले गर्नुपर्छ ।”

शुक्रबार सहीद दिवसको अवसरमा दिनुभएको सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “एकतन्त्रीय जहानियाँ शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाई प्रजातन्त्रको स्थापनार्थ प्राणको आहुती दिनुभएको उहाँहरुको स्मरण आजको दिनमा हामी सबैले गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले सहीदको सपनालाई साकार पार्न सरकार प्रयत्नशील रहेको चर्चा गर्नुहुँदै “माघ ९ गते नेपालको संविधानमा पहिलो संशोधन भएको छ, मुलुकको समस्या क्रमशः सम्बोधन हुँदै आएका छन्” जारी विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

“मुलुकको विद्यमान समस्यालाई वार्ता र संवादबाटै सम्बोधनको प्रयास भइरहेको छ, सबैको चासो क्रमशः सम्बोधन हुँदैजाने विश्वास म यस अवसरमा दिलाउन चाहन्छुँ” प्रधानमन्त्री ओलीले चर्चा गर्नुभएको छ । असन्तुष्ट सबै पक्षलाई वार्ता र संवादमा आउन पनि उहाँले यस अवसरमा आव्हान गर्नुभएको छ ।

“सहीद दिवसको यस अवसरमा लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, राष्ट्रिय एकता तथा अखण्डताको पक्षमा सरकार सधैं दृढ रहने विश्वास व्यक्त गर्दछु” प्रधानमन्त्री ओलीले विज्ञप्तीमा चर्चा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया