मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छः ओली


SAM_3033

काठमाडौं, माघ २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान, भौगोििलक अखण्डता, सार्वभौमिकता, नेपालको हित र स्वतन्त्रताका विषयमा कसैसँग सम्झौता नगरिने बताउनुभएको छ ।

एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औं महाधिवेशनको विहिबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । आफ्नो आगामी भारत भ्रमणतिर संकेत गर्नुहुँदै उहाँले राष्ट्रियताको विपक्षमा आफू कहिल्यै नजाने प्रतिवद्धता जनाउनुभयो । भ्रमणले छिमेकीमुलुक भारतसँगको सम्बन्धमा थप सुधार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सफलतापूर्वक आफ्नै नेतृत्वमा मुलुकलाई समृद्ध बनाउने दावी गर्नुभयो । लोकतन्त्रको आधारस्तम्भ एमाले नै रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने बताउनुभयो ।

मुलुकको नयाँ पुनःसंरचनाका लागि लोकतान्त्रिक सबै राजनीतिकदलहरुको सहभागितामा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुहुँदै उहाँले नेपाली कांग्रेसलाई आफ्नै नेतृत्वको सरकारमा आउन आव्हान गर्नुभयो । “करिब सबै राजनीतिकदलको यो सरकारमा सहभागिता छ, नेपाली कांग्रेस र मधेसवादी दलपनि आउनु पर्छ, यसै सरकारलाई राष्ट्रिय सहमतीको सरकार बनाउनुपर्छ” उहाँले भन्नुभयो ।

वर्तमान सरकार विकास निर्माण तथा राष्ट्रिय समृद्धिकैलागि युद्धस्तरमा काम गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “०७४ असार मसान्तभित्र देशभरको तुइनलाई विस्थापित गरी १७२ वटा झोलुङ्गेपुल निर्माण गरिसक्छौं, साउनमा जानेले तुइनको फोटो खिच्न पाउने छैन ।” अबको दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने पनि उहाँले दावी गर्नुभयो ।

“सुस्त विकास देखेका हामी नेपालीहरुलाई काम गर्छु भन्दा पनि पत्यार लाग्दैन, एक वर्षमा लोडसेडिङ् अन्त्य गर्छु भन्दा धेरैले हाँसे” भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “हावाबाट विजुली निकाल्छु भन्दा त झन उधुमै भयो ।”

एकसय पाँचवर्षमा ७५० मेगावाट विजुली निकाल्ने हाम्रो देशको विकास प्रक्रिया निकै सुस्तरहेको चर्चा गर्नुहुँदै उहाँले आफ्नो नेतृत्वको सरकारले रफ्तारमा काम गरिरहेको बताउनुभयो । “सुस्त विकास देखेका हामी नेपालीहरुलाई काम गर्छु भन्दा पनि पत्यार लाग्दैन, एक वर्षमा लोडसेडिङ् अन्त्य गर्छु भन्दा धेरैले हाँसे” भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “हावाबाट विजुली निकाल्छु भन्दा त झन उधुमै भयो ।”

“राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको कुरागर्दा धेरैले खोक्रो देशभक्तीको भाषण गरेको टिप्पणी गरे, म सोध्न चाहन्छुँ भरेको देशभक्ती कस्तो हुन्छ ?” उहाँले जिज्ञासा गर्नुभयो । एमालेले सरकारको मात्र नेतृत्व नगरेको बल्की देशकै नेतृत्व गरेको चर्चा गर्नुहुँदै एमाले अध्यक्ष समेत रहनुभएका ओलीले संख्यामा दोस्रो ठूलो पार्टी भएपनि वैचारिक हिसावले एमाले पहिलो पार्टी भएको दावी गर्नुभयो ।

“राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको कुरागर्दा धेरैले खोक्रो देशभक्तीको भाषण गरेको टिप्पणी गरे, म सोध्न चाहन्छुँ भरेको देशभक्ती कस्तो हुन्छ ?”

पार्टीभित्र आफूले कुनै गुटबन्दीको प्रश्रय नदिएको तर्क गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले कुनै भेला, संगठन र गोष्ठी गर्दै हिडेको छैन, अनेरास्ववियूको नेतृत्वमा जो आउँछ माउ पार्टीकै भातृ संगठनको अध्यक्ष हुन्छ, सके सहमतिमा गर्नुस् नसके स्वस्थ लोकतान्त्रिक प्रक्रिया अबलम्बन गर्नुस्” उहाँले सुझाव दिनुभयो । सो अवसरमा अध्यक्ष ओलीले महाधिवशेन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान परिवर्तन संस्थागत गर्ने पक्षमा रहेकाले त्यसको कार्यान्वयनको विकल्प नरहेको बताउनुभयो । स्थानीय निकाय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्नसकेमात्र नयाँ संविधान कार्यान्वयनको चरणमा जाने तर्क गर्नुभयो । पार्टीभित्रको गुटबन्दीले भएको शक्तिको क्षयीकरण गरिरहेकाले यसको अन्त्य गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो ।

नेता माधवकुमार नेपालले विद्यार्थी संगठनमा अनेरास्ववियुको भूमिका उत्साहजनक रहेको बताउनुहुँदै नेपालको शैक्षिकक्षेत्रको सुधारमा संगठनको ठूलो भूमिका रहेको बताउनुभयो । “नेपालको राजनीतिमा कम्युनिष्ट प्रणालीलाई स्थापित गराउनमा एमालेको अहम् भूमिका छ, देशको परिवर्तन संस्थागत गर्नमा पनि नेतृत्वदावी भूमिका निर्वाह गर्नुपर्छ” उहाँले भन्नुभयो ।

पार्टी महासचिव ईश्वर पोखरेलले लोकतान्त्रिक आचरणलाई प्रदर्शन गरेर स्वस्थ तरिकाले नेतृत्व चयन गर्न शुभकामना दिनुभयो । एमाले राष्ट्रिय राजनीतिको मियो भएको दावी गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “हाम्रो पार्टी राष्ट्रिय स्वाभिमानको पनि प्रतिक हो ।”

महासचिव पोखरेलले भन्नुभयो, “हाम्रो पार्टी राष्ट्रिय स्वाभिमानको पनि प्रतिक हो ।”

अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लको सभापतित्वमा भएको उद्घाटनसत्रमा मोर्चा संगठनका प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्ट, विद्यार्थी फाँटका प्रमुख रविन्द अधिकारी, युवा संघ नेपालका अध्यक्ष राजीव पहाडी, विद्यार्थी नेता रमेश मल्ल लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा भएपनि बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा हुने आयोजकले बताएको छ । हालका उपाध्यक्ष दीपक गौतम तथा महासचिव नविना लामाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने देखिएको छ । महाधिवेशनमा ७५ वटै जिल्लाबाट गरी करिब १६ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया