प्रधानमन्त्रीको भारत भ्रमण अघि राजनीतिक संयन्त्र गठन हुने

संयन्त्रले नै विवादित सीमाङ्कनको विषय टुंगो लगाउने


PM

काठमाडौं, माघ २९ गते । सीमाङ्कन र प्रदेश संख्याबारे टुङ्गो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अगावै राजनीतिक संयन्त्र गठन गर्ने प्रमुख तीनदल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सैद्धान्तिक सहमति बनेको छ ।

प्रधानमन्त्री ओलीको विशेष पहलमा शुक्रबार विहान बालुवाटारमा भएको प्रमुख तीनदलका नेतासहित बसेको कार्यदलको बैठकमा त्यस्तो सहमति बनेको हो । करिब निस्क्रिय भइसकेको कार्यदललाई पुनः व्यूँताउने सहमति पनि नेताहरुले गर्नुभएको छ ।

यसअघि कार्यदलमा भएको छलफल र उपलब्धीको विषय जहाँबाट रुकेको थियो, पुनः त्यही ठाउँबाट संवाद र छलफल आरम्भ गर्न प्रमुख तीनदलका नेता र मोर्चाका नेता सहमत हुनुभएको छ । प्रधानमन्त्री ओलीको आगामी फागुन ७ बाट हुने भारत भ्रमण अघि नै सकारात्मक सन्देश दिनका लागि राजनीतिक संयन्त्र निर्माण गर्ने र सहमतिको वातावरण बनाउने नेताहरु तयार हुनुभएको छ ।

Laxman

राजनीतिक संयन्त्र गठनकालागि त्यसको कार्यविधि आइतबारसम्म तयार गर्न कार्यदलका सदस्यहरु तयार हुनुभएको छ । कार्यविधि तयार भएपछि त्यहीअनुसार संयन्त्र निर्माण हुने उहाँहरुको भनाई छ । प्रमुख तीनदलले यसअघिसम्म राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सीमाङ्कनको विषय टुंगो लगाउने प्रस्ताव राख्दै आएका थिए । त्यसमा मोर्चा सम्बद्ध दलका नेताहरु करिब सहमत भइसकेका थिए ।

भर्खर भारत भ्रमणबाट फर्कनुभएका अर्थमन्त्री विष्णु पौडेलले भारतीय नेताहरुसँगको भेटघाटमा पनि राजनीतिक संयन्त्र निर्माण गरी मधेसी मोर्चाले उठाएको माग र सीमाङ्कनको विषयलाई टुंगो लगाउने सन्देश दिनुभएको थियो । प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनाउनेगरी भएको अर्थमन्त्रीको भ्रमण उपलब्धीपूर्ण भएको मन्त्री पौडेलले जानकारी गराइसक्नुभएको छ ।

नेपाली कांग्रेसका नेता तथा कार्यदलका सदस्य महेश आचार्यले मधेस आन्दोलनमा उठेको विषयलाई सम्बोधन गर्नेगरी मोटामोटी समझदारी बनेको बताउनुभयो । “पर्सी आइतबारसम्ममा राजनीतिक संयन्त्र निर्माण गर्नेगरी संवाद र छलफल गर्ने सहमति बनेको छ” भन्नुहुँदै नेता आचार्यले तीन दलका नेता र कार्यदलस्तरमा छलफलपछि सबै विषय टुंगो लाग्ने बताउनुभयो ।

“कांग्रेसको महाधिवेसनको समय पनि निजिकिदै आएकाले संयन्त्र निर्माणको विषय चाँडो टुंग्याउनमा हामी सबै तयार छौं” उहाँले भन्नुभयो, “संयन्त्रको कार्यक्षेत्र, कार्यविधिबारेमा अलिकति केही विषय टुंग्याउन बाँकी छ, मोर्चाका नेताहरु पनि समझदारीका लागि तयार हुनुहुन्छ ।” विवादित विषय चाँडो टुंग्याउनेमा प्रधानमन्त्री, सत्ताक्ष, प्रतिपक्षी दल तथा मोर्चाका नेताहरु सकारात्मक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

“संयन्त्रको कार्यक्षेत्र, कार्यविधिबारेमा अलिकति केही विषय टुंग्याउन बाँकी छ, मोर्चाका नेताहरु पनि समझदारीका लागि तयार हुनुहुन्छ ।”

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै आन्तरिक समस्या समाधान गरेर जाँदा भ्रमण बढी फलदायी हुने विषयमा छलफल भएको बताउनुभयो । संयन्त्र निर्माणको कार्यविधि निर्माणमा केही विवाद रहेकाले पहिले सो विषयमा तीनदल एक ठाउँमा आएपछि कार्यदलमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

“अस्ति जहाँ हाम्रो कुरा पुगेको थियो, त्यहीबाट कार्यदलस्तरमा छलफल शुरुहुन्छ” भन्दै सहअध्यक्ष कर्णले भन्नुभयो, “पर्सीसम्म कार्यदल बसेर कार्यविधिबारे टुंगो लगाउने कुरा भएको छ ।” “कार्यविधि प्रष्टरुपमा आउनुपर्छ, आन्दोलनको भावना समेट्नेगरी आउनुपर्छ भन्ने हामीले सुझाव दिएका छौं, त्यसो गरिए राजनीतिक संयन्त्र निर्माण हुन्छ” सहअध्यक्ष कर्णले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री ओली, एमाले वरिष्ठ नेता झलनाथ खनाल, उपप्रधानमन्त्री भीम रावल, प्रमुख सचेतक भानुभक्त ढकाल, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कार्यदलका सदस्यहरुको सहभागिता थियो । त्यस्तै, मोर्चाको तर्फबाट तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठी, तमसपाका वरिष्ठ नेता रामनरेश राय यादव, नेता लक्ष्मणलाल कर्ण लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया