अनेरास्ववियुको मतदान सोमबारबाट


Akhil

काठमाडौं, फागुन १ गते । काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन ३ गते सोमबार विहानदेखि शुरुहुने भएको छ ।

निर्वाचन अध्यक्ष मण्डलका सदस्यहरुको अनुसार आइतबार निर्वाचन प्रक्रिया शुरुभई सोमबार मतदान हुनेछ । प्रतिनिधि विवादकाकारण निर्वाचन केही ढिला भएपनि दुई दिनको प्रयासले शनिबार अबेर प्रतिनिधि विवाद टुंगिएको महाधिवेशन प्रचार कमिटीका संयोजक ऐन महरले बताउनुभयो । विभिन्न कारणले करिब डेढसय देखि दुईसय प्रतिनिधि छनौटमा विवाद थियो ।

अध्यक्ष मण्डलका संयोजक तथा एमाले मोर्चा फाँटका प्रमुख गोकर्ण विष्ट तथा विद्यार्थी फाँटका प्रमुख रविन्द्र अधिकारीसहित अध्यक्ष मण्डलका सदस्यहरुको विशेष प्रयासले विवाद टुंगिएको अनेरास्ववियुका पदाधिकारीहरुको भनाई छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा शुरु बन्दसत्र सोमबारसम्म चल्ने अध्यक्षका प्रत्यासी दीपक गौतमले बताउनुभयो । शनिबार साँझसम्म विवादकैबीच निर्वाचन प्रक्रियाका सबै तयारीहरु पूरा भएकाले आइतबार विहानदेखि प्रतिनिधिहरुको नामावली प्रकाशन तथा उम्मेदवारी मनोनयनको प्रक्रिया शुरुहुने गौतमको भनाई छ ।

नयाँ कार्य समिति नेतृत्वका लागि नविना लामा र दीपक गौतमबीच प्रतिस्पर्धा हुनेभएको छ । लामा र गौतम दुवै पक्षकाले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । करिब एकहजार छसय प्रतिनिधि रहेको निर्वाचनको परिणाम सोमबार राती या मंगलबार विहानसम्म आउने आयोजकले बताएको छ ।

एमालेको भातृ संगठनमा प्रभावशाली विद्यार्थी संगठनकोरुपमा चिनिएको अनेरास्ववियूमा प्रतिस्पर्धाका लागि उम्मेदवारहरुले व्यापकरुपमा सामाजिक सञ्चालको प्रयोग गरेका छन् । पर्चा, पम्पलेट, भित्तेलेखन तथा माइकिङ्जस्ता प्रचारको कार्यक्रम उम्मेदवारले गर्न नपाउने आचारसंहिता निर्वाचन मण्डलले बनाएपछि उम्मेदवारहरुले सामाजिक सञ्जालमै प्रचार गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया