व्यवस्थापिका संसदको पहिलो अधिवेशन बुधबारबाट अन्त्य

एकसय उनन्चालीस दिनमा ४४ पटक मात्र बैठक बस्यो


SAM_3086
काठमाडौं, फागुन ५ गते । व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीले संसदको करिब पाँच महिने लामो पहिलो अधिवेशनमा आफूले धेरै विषयको अनुभव लिएको बताउनुभएको छ । पहिलो पटक सभामुखको जिम्मेवारीमा आउँदा थुप्रै चुनौतिका बीच अधिवेशन सफल बनाएको उहाँले तर्क गर्नुभयो ।

व्यवस्थापिका संसदको बुधबार बसेको बैठकपछि संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारहरुसँग छलफल गर्नुहुँदै सभामुख घर्तीले त्यस्तो बताउनुभयो । पहिलो अधिवेशनबाट महत्वूर्ण कामहरु सम्पन्न भएको र त्यसमा संसद सचिवालयका कर्मचारी, मिडियाकर्मी, प्रमुख सचेतकसहित दलका नेताहरुको पनि ठूलो सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।

“यस अवधिमा संसदको नयाँ नियमावली पारित भएको भए अन्य कामको जिम्मेवारी र काम गर्ने अवसरहरु सांसदहरुलाई मिल्नेथियो, तर नियमावली अझै पारित गर्ने वातावरण बन्न सकेन”

गत असोज ३ गते नयाँ संविधान जारीगरी संविधानमा सबैको अपनत्वबोध गराउन संविधानको पहिलो संशोधनसमेत भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । “यस अवधिमा संसदको नयाँ नियमावली पारित भएको भए अन्य कामको जिम्मेवारी र काम गर्ने अवसरहरु सांसदहरुलाई मिल्नेथियो, तर नियमावली अझै पारित गर्ने वातावरण बन्न सकेन” भन्नुहुँदै सभामुख घर्तीले थपिएको ३० दिने अवधिमै नियमावलीको काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ संविधान जारीपछि संविधानको कार्यान्वयनको पाटो नै अहिले प्रमुख आवश्यकता भएको बताउनुहुँदै सभामुख घर्तीले त्यसकालागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । संसदको राम्रो व्यवस्थालाई पछ्याउँदै थप नयाँ राम्रो व्यवस्थाको शरुवात गर्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।

SAM_3083

नियमावली समितिको ३० दिन म्याद थपः
व्यवस्थापिका संसदको बुधबारको बैठकले संसद नियमावली मस्यौदा गर्न गठित नियमावली मस्यौदा समितिको चौथोपटक ३० दिन म्याद थप गरेको छ ।

समितिका संयोजक राधेश्याम अधिकारीले म्याद थपको प्रस्ताव बैठकमा राख्नुभएपछि संसद बैठकले त्यसलाई सर्वसहमतिले स्वीकृति प्रदान गरेको हो । गत असोज २५ गते गठित मस्यौदा समितिको पुस ३ गते पहिलो पटक १५ दिनका लागि म्याद थप गरिएको थियो ।

सो अवधिमा पनि नियमावली मस्यौदा तयार हुन नसकेपछि पुस १९ गते पुनः १५ दिनका लागि दोस्रो पटक म्याद थप गरिएको थियो । सो अवधिमा पनि कम हुन सकेन । समितिकै प्रस्तावअनुसार माघ ७ गते तेस्रो पटक १५ दिनका लागि म्याद थप भयो भने बुधबार फागुन ५ गते ३० दिनका लागि समितिको म्याद चौथो पटक थप गरिएको छ ।

६१ सदस्यीय मस्यौदा समितिमा संसदीय सुनुवाई समितिमा कति सदस्य रहने भन्ने व्यवस्थामा प्रमुख विवाद रहँदै आएको छ । नयाँ संविधानले बढीमा पन्ध्र सदस्यीय सुनुवाई समिति गठन गरिनुपर्ने स्पष्ट व्यवस्था गरेकाले एमाले र एमाओवादीका सांसदहरुले १५ सदस्यीय गठन हुनुपर्ने अडानमा छन् ।

६१ सदस्यीय मस्यौदा समितिमा संसदीय सुनुवाई समितिमा कति सदस्य रहने भन्ने व्यवस्थामा प्रमुख विवाद रहँदै आएको छ । नयाँ संविधानले बढीमा पन्ध्र सदस्यीय सुनुवाई समिति गठन गरिनुपर्ने स्पष्ट व्यवस्था गरेकाले एमाले र एमाओवादीका सांसदहरुले १५ सदस्यीय गठन हुनुपर्ने अडानमा छन् ।

तर प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले यसअघिको अन्तरिम संविधानमा ७३ सदस्यीय सुनुवाई समिति कायम भएकाले त्यसलाई पछ्याएर जानुपर्ने अडान राख्दैआएको छ । अन्य विषयमा समितिका सदस्यहरुको करिब मतक्यैता नरहे पनि संसदीय सुनुवाई समिति गठनकै विषयमा प्रमुख विवाद रहेको समिति सदस्य रामनारायण विनाडीले बताउनुभयो । अहिले अन्तरिम नियमावलीअनुसार संसद बैठक सुचारु भैरहेको छ ।

संसदको पहिलो अधिवेशनको अन्त्यः
गत असोज १५ गते शुक्रबार देखि शुरुभएको संसदको पहिलो अधिवेशनको बुधबारदेखि अन्त्य भएको छ । एकसय ३९ दिन चालुरहेको यो अधिवेशनमा ४४ पटक बैठक बसेको र ३७ घण्टा १५ मिनेट संसद बैठक खास कार्यमा व्यस्त रहेको थियो ।

पहिलो अधिवेशनले संसदको अन्तरिम कार्यविधि २०७२ पारित गरेपछि असोज २४ गते प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । यसअवधिमा विभिन्न ३८ वटा विभिन्न विधेयकहरु सदनमा पेश भएपनि ६ वटा विधेयकमात्र पारित भएका छन् ।

त्यस्तै असोज २९ गते सर्वसहमतिले सभामुखमा ओनसरी घर्तीलाई निर्वाचित गरेको संसद बैठकले कात्तिक ११ गते राष्ट्रपतिमा विद्या भण्डारीलाई निर्वाचित गरेको थियो । त्यस्तै, कात्तिक १४ गते उपराष्ट्रपतिमा नन्दकुमार पुनमगरलाई निर्वाचित गरेको थियो । राष्ट्रपति भण्डारीले बुधबार राती १० बजेबाट पहिलो अधिवेशन अन्त्य हुने बताउनुभएको छ ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया