काठमाडौं, फागुन ८ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को मतगणना जारी छ । अहिलेसम्म संस्थापनपक्षका उम्मेदवारहरुले अग्रता लिनुभएको छ । मतगणना एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।
नेकपा (एमाले) को प्रभावशाली विद्यार्थी संगठनकोरुपमा रहेको अखिलमा अध्यक्ष केपी शर्मा ओली (संस्थापन पक्ष) बाट नविना लामा र नेता माधवकुमार नेपाल पक्षबाट दीपक गौतमबीच अध्यक्ष पदमा कडा प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म लामा २८१ मत प्राप्त गरी अग्रता लिनुभएको छ । त्यस्तै उहाँको प्रतिद्वण्द्व दीपक गौतम २३४ मत प्राप्त गर्नुभएको छ ।
शुक्रबार साँझ ६ बजेबाट शुरुभएको मतगणनाअनुसार चार उपाध्यक्षमा संस्थापनपक्ष लामा समूहबाट रश्मि आचार्य २५९, महेश बर्तौला २४३, शैलेश लामा २२७ र सुनिता बरालले २१७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, गौतम पक्षबाट उपाध्यक्षमा क्रमशः जीवन राई २२८, राधिका खतिवडा २२८, निलकण्ठ आचार्य २०३ र सरोज यादवको २२४ मत छ ।
महासचिवमा संस्थापनबाट ऐन महरको २६१ र उनको प्रतिद्वण्द्व अब्दुल हुसेन खाँले २४७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सात सचिवमा संस्थापनबाट आरसी लामिछाने २७५, समिक बडाल २६९, मकर खडका २५२, अमृत बुढा २४४, कमला बोहरा २२३, दुर्गानन्द ठाकुर २२७ र बसन्त ढकालको १९२ मत छ ।
गौतम प्यानलका सचिवमा क्रमशः असिम आलम २६५, आरती लामा २७५, सुदेश पराजुली २५२, गौतम राई २३५, भक्तकुमारी लामा २२३, अशेष घिमिरे २०७ र भीम रावलको १८४ मत छ ।
त्यस्तै, सचिवालयसदस्य खुल्ला एक पदका लागि चौधरी कोटाबाट दुई थारुबीच कडा भिडन्त भइरहेको छ । अहिलेसम्म रामशरण चौधरीले १७२ र दिपेन्द्र चौधरीले १४० मत प्राप्त गर्नुभएको छ ।
मतगणना विभिन्न १८ स्थानमा जारी रहेकाले शनिबार रातीसम्म सबै परिणाम आइसक्ने निर्वाचन कमिटीले बताएको छ ।