अस्रुग्यास गनसहित पक्राउ परेका थारुबारे अनुसन्धान जारी

टीकापुरमा लुटिएको हुनसक्ने प्रहरीको आशंका, घटना सुनियोजित हुनसक्ने थारु नेताको आशंका


Kukra1

धनगढी, फागुन १२ गते । टीकापुर घटना भएको छ महिना पछि कैलाली प्रहरीले घटनामा लुटिएको प्रहरी हतियारसहित एकजना ३९ वर्षिय कुकरा थारु चौधरीलाई मंगलबार पक्राउ गरेको जनाएको छ । कैलालीको जोशीपुरबाट प्रहरीले थारुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । तर घटना सुनियोजित हुनसक्ने आशंका थारु नेताहरुले गरेका छन् ।

सुदूरपश्चिमको क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटेको क्षेत्रीय प्रहरी अनुसन्धान टोलीले कैलालीको जोशीपुरबाट एकथान मल्टिग्यास गनसहित थारुलाई पक्राउ गरेको कैलाली प्रहरीको दावी छ । एक पटकमा छ राउण्डसम्म अस्रुग्यास मार हान्नसक्ने सो हतियारसहित फोरम नेपालका जिल्ला कार्यकर्ता थारुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । टीकापुर घटनाबाटै लुटिएको ग्यास गन भएको प्रमाणित नभए पनि प्रहरीले सो घट्नाबाटै लुटिएको हुनसक्ने अनुमान गरेको छ ।

गनमा लेखिएको सिरियल नम्बर मेटिएकाले टीकापुर घटनामा प्रयोग भएको नभएको एकिन गर्न नसकिएको प्रहरीको भनाई छ । गत भदौ ७ गते भएको टीकापुर घटनामा एकथान टीयर ग्यास गन, एकथान एसएलआर राइफल र एकथान पेष्टोल हराएको प्रहरीले बताएको थियो । सो मध्ये एसएलआर राइफल भने घटनामै टुटफुट भएको प्रहरीको भनाई छ । बाँकी हतियारको खोजीकार्य जारी रहेको प्रहरीले बताउँदै आएको छ । पक्राउ परेका थारुले सो ग्यास गन कहाँबाट फेला परेको हो भन्नेबारे अझै बयान दिएका छैनन् ।

गत भदौ ७ गते भएको टीकापुर घटनामा एकथान टीयर ग्यास गन, एकथान एसएलआर राइफल र एकथान पेष्टोल हराएको प्रहरीले बताएको थियो । सो मध्ये एसएलआर राइफल भने घटनामै टुटफुट भएको प्रहरीको भनाई छ ।

सुदूरपश्चिमका डिआइजी विजयकुमार भट्टकाअनुसार लुटिएको हतियार भारतीय बजारमा विक्री गरिएको जानकारी प्रहरीलाई भएको आधारमा सो टीयर ग्यास गन पनि विक्री गर्न लगिरहेकै अवस्थामा पक्राउ गरिएको हो । हसुलिया ८, मनाउँका स्थायी बासिन्दा निर्दङ भनिने चौधरीले हतियार बेच्न भारततिर गैरहेको सुराकीको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

कैलालीको बसौटी ३ कर्मदेव सामुदायिक वनको जंगल भएर स्थानीय भारतीय बजारतिर गैरहेका चौधरीले सेतो प्लाष्टिकमा बेरेर झोलामा राखेको अवस्थामा हतियार बरामद गरिएको डिआइजी भट्टले जानकारी दिनुभयो । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको र हातहतियार खरखजाना ऐन अनुसार कारवाहीको तयारी भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका चौधरीले जोशीपुरबाट बेच्नका लागि टीयर ग्यास भारततिर लग्न लागेको स्वीकारेको बताइए पनि को बाट लिएर बेच्न लगेका हुन् खुलाएका छैनन् । चौधरी टीकापुर घटनामा आफू संलग्न नरहेको बताएका छन् । पक्राउ परेका चौधरीलाई स्थानीयले पूर्व माओवादी लडाकु भनेका छन् भने चौधरी आफू फोरम नेपालको कार्यकर्ता भएको बताएको प्रहरीको भनाई छ ।

थारु कल्याणकारिणीसभा कैलालीका प्रवक्ता माधव चौधरीकाअनुसार घटना वास्तविक हो कि सुनियोजित हो बारेमा अझै एकिन भन्न सक्ने अवस्था छैन । सो बारेमा थारुको तर्फबाट आन्तरिक अध्ययन जारी रहेकाले चाँडै त्यसको बास्तविकता बाहिर आउने जानकारी दिनुभयो ।

तर थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले सो घटना बनावटी हुनसक्ने दावी गर्नुभयो । सिधासोझा थारुलाई फँसाएर आफ्नो अनुसन्धान कार्यलाई देखाउन प्रहरीले नाटक रच्नखोजेको हुनसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो । तर घटनाबारे थारुहरुको तर्फबाट जानकारी लिन बाँकीरहेको उहाँको भनाई छ ।

थारु कल्याणकारिणीसभा कैलालीका प्रवक्ता माधव चौधरीकाअनुसार घटना वास्तविक हो कि सुनियोजित हो बारेमा अझै एकिन भन्न सक्ने अवस्था छैन । सो बारेमा थारुको तर्फबाट आन्तरिक अध्ययन जारी रहेकाले चाँडै त्यसको बास्तविकता बाहिर आउने जानकारी दिनुभयो । सो विषयमा बुधबार नै थारु समुदायको बैठक बसी आधिकारीक धारणा बाहिर ल्याउने तयारी भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया