गोरखापत्र संस्थानलाई सूचना संग्रहालयकोरुपमा स्थापित गरिने


SAM_3296

काठमाडौं, फागुन २० गते । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले गोरखापत्र संस्थानलाई सूचना संग्रहालयकोरुपमा स्थापित गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

गोरखापत्र दैनिक नयाँ नेपालको तीन दिने पृष्ठ सशक्तिकरण प्रशिक्षण कार्यक्रमको विहिबार यहाँ समापन गर्नुहुँदै सचिव थपलियाले त्यस्तो बताउनुभयो । “मैले गोरखापत्र पत्रिका पढेरै शाखा अधिकृतमा नाम निकालेको हुँ, आज मन्त्रालयको सचिव भएको छुँ” उहाँले भन्नुभयो । आफूले अधिकृत पदको परीक्षा दिनेक्रममा अन्य कागजात पर्याप्त प्रकाशन नभएको उहाँले स्मरण गर्नुभयो ।

सचिव थपलियाले अबको दुई वर्षमा देशको प्रमुख तीन ठाउँबाट गोरखापत्रको क्षेत्रीय प्रकाशन शुरुहुने र पाँचवर्षमा हरेक प्रदेशबाट क्षेत्रीय प्रकाशनको व्यवस्था गरी गोरखापत्रलाई सबैसामु पु¥याउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभयो । गोरखापत्रलाई संघीय संरचना अनुसारको व्यवस्थापनको खाँचो पनि उहाँले औल्याउनुभयो ।

SAM_3307

गोरखापत्र पत्रिकाको आफनै गरिमा र विशिष्ट पहिचान छ, अन्य पत्रिकासँग यसको प्रतिस्पर्धा हुनै सक्दैन भन्नुहुँदै सचिव थपलियाले निजी पत्रिकाहरु गोरखापत्रसँग प्रतिस्पर्धा गर्न नसक्ने दावी गर्नुभयो । “मुलुककै जेठो पत्रिकाको आफ्नै इतिहास र विरासत छ, समावेशीताको सवालमा पनि यो दक्षिण एसियामै विशिष्ट पहिचान बनाएको छ” भन्नुहुँदै उहाँले निजी पत्रिकाले यति विशिष्ट योगदान दिनै नसक्ने चर्चा गर्नुभयो ।

“गोरखापत्र आफैमा मुलुकको एकता हो, यसभित्र मुलुकको सहिष्णुता र आत्मीयता जोडिएको छ” भन्नुहुँदै सचिव थपलियाले भन्नुभयो, “गोरखापत्रको स्थापना दिवस वैशाख २४ गतेलाई विशेष बनाउने तयारी मन्त्रालय र संस्थानले गरिरहेको छ ।” गोरखापत्रको स्थापना दिवसलाई राष्ट्रिय पत्रकारिता दिवसकोरुपमा स्थापना गर्नुपनि ऐतिहासिक उपलब्धी भएको उहाँले चर्चा गर्नुभयो ।

SAM_3278

समावेशी पृष्ठ र त्यसमा काम गर्ने संयोजक र सहसंयोजकहरुको विशिष्ट योगदान रहेको चर्चा गर्नुहृँदै सचिव थपलियाले संविधानमा भएको भाषा आयोगले भाषा, संस्कृतिको उत्थानमा थप टेवा दिने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्रलाई विकास निर्माणका लागि पनि उपयोग गर्न सकिने उहाँले बताउनुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्रको समुचित विकासका निम्ति योजना बनाएर संस्थान अगाडि बढिरहेको बताउनुभयो । समावेशीताका लागि गोरखापत्र विश्वमै उत्कृष्ट योगदान दिएको चर्चा गर्नुहुँदै उहाँले नेपालमा बोलिने भाषा र संस्कृतिहरु राष्ट्रका सौन्दर्य भएकाले गोरखापत्रले त्यसलाई सम्मान गरिरहेको बताउनुभयो ।

सो अवसरमा महाप्रबन्धक कोइरालाले तीन दिनसम्म तालिममा सिकेको सीप र ज्ञानलाई पृष्ठलाई स्तरीय र गुणस्तरीय बनाएर तालिमको सार्थकता पुष्टि गर्न प्रशिक्षार्थीहरुसँग आग्रह गर्नुभयो । गोरखापत्रले अहिले ३० भाषामा पृष्ठ प्रकाशन गरेपनि आगामी दिनमा थप पृष्ठहरु थपिदै लग्ने उहाँले बताउनुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्रको समुचित विकासका निम्ति योजना बनाएर संस्थान अगाडि बढिरहेको बताउनुभयो । समावेशीताका लागि गोरखापत्र विश्वमै उत्कृष्ट योगदान दिएको चर्चा गर्नुहुँदै उहाँले नेपालमा बोलिने भाषा र संस्कृतिहरु राष्ट्रका सौन्दर्य भएकाले गोरखापत्रले त्यसलाई सम्मान गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षार्थी तथा बराम भाषाका संयोजक किरण बरामले गोरखापत्रलाई राम्रो र हाम्रो बनाउन सबैको योगदान आवश्यक रहेको बताउनुभयो । गोरखापत्रमा बहुभाषिक पृष्ठ भएकैकारण आफूहरुको गोरखापत्रसँगको सम्बन्ध गाँसिएको बताउँदै बरामले पृष्ठलाई गुणस्तरीय बनाउन समय समयमा तालिमको आवश्यकता पर्ने बताउनुभयो । तालिमका लागि उहाँले गोरखापत्र संस्थानलाई धन्यवाद दिनुभयो ।

प्रशिक्षार्थी तथा सुनुवार भाषाकी सहसंयोजक विमला सुनुवारले तालिमले आफूहरुलाई थप जिम्मेवार बनाएको अनुभव सुनाउनुभयो । पृष्ठलाई गुणस्तरीय र परिस्कृत बनाउनका लागि तीन दिनको तालिमबाट प्रशस्त ज्ञान र सीप आर्जन भएको बताउँदै उहाँले सो सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुभयो ।

फागुन १८ देखि २० गतेसम्म चलेको तीन दिने तालिममा प्रधानसम्पादक पुष्कर माथेमा, प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ, पत्रकार जुनारबाबु बस्नेत, नारद गौतम, केशव खनाल र लक्की चौधरीले प्रशिक्षण दिनुभएको थियो । तालिममा हरेक भाषाबाट दुईजनाको दरले करिब ६० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सचिव थपलियाले प्रशिक्षार्थीलाई प्रमाणपत्र र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्नुभयो । गोरखापत्रमा अहिले विभिन्न ३० भाषाका पृष्ठहरु प्रकाशित हुँदैआएका छन् ।

तपाईको प्रतिक्रिया