थरुहट प्रदेश प्राप्त भएमात्र थारु सहिदको सपना पूरा हुने


SAM_3347

काठमाडौं, फागुन २२ गते । थारु समुदायको हक अधिकार सुनिश्चित् गर्नेगरी भएको थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्नुभएका सहिदको सपना थरुहट प्रदेश प्राप्त भएमात्र पूराहुने थारु अगुवाहरुले बताउनुभएको छ ।

थारु कल्याणकारिणीसभा उपत्यका समितिको आयोजनामा शनिबार यहाँ आयोजित थारु सहिद स्मृतिसभामा बोल्दै थारु अगुवाहरुले त्यस्तो बताउनुभयो । थारु अधिकारका लागि आफ्नो जीवनको उत्सर्ग गर्ने सहिदहरुको सपना पूरागर्न सबै थारु एकजुट भएर संघर्ष गर्नुको विकल्प नरहेको उहाँहरुको धारणा थियो ।

थारु कल्याणकारिणीसभाका पूर्व महामन्त्री राजकुमार लेखीले थारु एकता विना सहिदको सपना पूराहुन नसक्ने भन्दै सबै थारुलाई मुद्दामा एकहुन आग्रह गर्नुभयो । विगतमा भएको आन्दोलनको समिक्षा गर्दै थप संघर्षको कार्यक्रम गर्न आवश्यक रहेको भन्दै उहाँले युवालाई सक्रिय हुन आग्रह गर्नुभयो ।

SAM_3342

तराईमा थारुभन्दा कम जनसंख्या भएका यादवहरुले सरकारलाई झुकाउन सक्छन् भने ठूलो जनसंख्या भएको थारुले किन सक्दैन ? जिज्ञासा गर्दै उहाँले आन्दोलनका लागि तयार रहन सबैमा आग्रह गर्नुभयो । थरुहट थारुवान संघर्ष समितिमा धनीराम चौधरी बाहेक सबै युवाहरुको नेतृत्व रहेको भएपनि युवाको भूमिका प्रभावकारी नदेखिएको उहाँले गुनासो गर्नुभयो ।

पत्रकार लक्की चौधरीले थारुलाई नयाँ संविधानले अलग पहिचानको सुनिश्चित्ता गर्दासमेत नेपाली कांग्रेसको महाधिवेशनमा थारु कोटा नछुट्याउनु थारुलाई विभेद गरेको आरोप लगाउनुभयो । कांग्रेसका थारु नेता र प्रतिनिधिले थारु कोटाकालागि दवाव दिन नसकेको बताउँदै पत्रकार चौधरीले राज्यको सबै निकायमा जनसंख्याको आधारमा समानुपातिक सहभागिता विना पछाडि परेका वर्गप्रति न्याय हुन नसक्ने तर्क गर्नुभयो ।

थाकसका केन्द्रीय सदस्य प्रेमीलाल चौधरीले बीरगति प्राप्त गरेका थारु सहिदको सरकारले मूल्याङ्कन नगरेको आरोप लगाउनुभयो ।
उपत्यका समितिका सभापति सुमन चौधरीको सभापतित्वमा भएको कार्यक्रममा थारु अगुवाहरु नेमसिंह चौधरी, जयनारायण चौधरी, बुद्धसेन चौधरी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सहिदहरु कमल चौधरी, विपिन खड्का, रामप्रसाद चौधरी, प्रकाश चौधरी र धनबहादुर थनेत थारुप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

तपाईको प्रतिक्रिया