थारु सांसदको सुझाव, ‘देउवा अब थारुप्रति गम्भीर हुनुपर्छ’


Deuba

काठमाडौं, फागुन २५ गते । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएपछि थारु सांसदहरुले पछाडिपरेका वर्ग समुदायको अधिकार सुनिश्चित्ताका लागि विशेष ध्यान दिन सुझाव दिनुभएको छ । ‘थारुको मागबारे देउवा गम्भीर हुन सक्नुभयो भने तराई मधेस, हिमाल र पहाडलाई मिलाउन सक्नुहुन्छ’ सांसदहरुको सुझाव छ ।

महाधिवेशन अघि देउवाले तराईका विभिन्न जिल्लामा गएर प्रशिक्षण दिंदै थारुको मागबारे आफूजतिको कोही नेता गम्भीर नरहेको धारणा राख्दै आउनुभएको थियो । दाङको एक कार्यक्रममा उहाँले कञ्चनपुरदेखि दाङ्सम्म थरुहट प्रदेशका लागि सिमाङ्कन कायम गर्न सकिने आश्वासन दिनुभएको थियो ।

दाङको एक कार्यक्रममा उहाँले कञ्चनपुरदेखि दाङ्सम्म थरुहट प्रदेशका लागि सिमाङ्कन कायम गर्न सकिने आश्वासन दिनुभएको थियो ।

त्यस्तै, कैलाली र कञ्चनपुरको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा देउवाले थारुलाई विशेषाधिकार प्रदान गर्ने बताउनुभएको थियो । आफ्नै नेतृत्वमा कमैयालाई दास जीवनबाट मुक्त गराएको र मुक्त कमैयाको पुनस्र्थापना पनि आफ्नै नेतृत्वमा गर्ने प्रतिवद्धता उहाँको थियो । देशको सबैभन्दा ठूलो पार्टीको सभापतिमा निर्वाचित भएपछि अब देउवाको काँधमा हिजोका दिनमा दिएको आश्वासन पूरा गर्ने अवसर प्राप्त भएको छ ।

पार्टी सभापति देउवा नै भोलिको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने वेटिङ प्राइमिनिष्टर भएकाले उहाँले आफ्नो कार्यकालमा अब के गर्नुपर्छ भन्ने विषयमा नेपाली कांग्रेसकै थारु सभासदहरुको विभिन्न किसिमको सुझाव छ । हेरौं उहाँहरुको सुझाव जस्ताकोतस्तैः

तेजुलाल चौधरी (सांसद, सप्तरी ५)

SAM_3939
नेपाली कांग्रेसको सभापतिजस्तो जिम्मेवारीमा आउनुभएपछि शेरबहादुर देउवाले तराई मधेसको समस्यामा गम्भीर बन्नुपर्छ । उहाँको यसअघिको प्रतिवद्धताअनुसार काम गर्न सक्नुभयो भने थारु समुदायलाई समेटेर लग्न उहाँलाई कठिन हुँदैन । “कांग्रेस लोकतान्त्रिक प्रक्रिया अबलम्बन गर्ने पार्टी हो, पार्टी भित्रका नेताहरुलाई मिलाएर लग्न र थारुको अधिकार सम्बोधन गर्ने प्रतिवद्धतालाई उहाँले कार्यान्वयन गर्नुपर्छ” सांसद चौधरीले बताउनुभयो ।

विशेषगरी राज्यबाट पछाडि पारिएका वर्ग थारु समुदायको माग र अधिकारका विषयमा सभापति देउवा गम्भीर बन्नुभयो भने उहाँको उचाई अझ बढ्छ । कांग्रेसको उचाई बढाउन थारु र मधेसी समुदायको माग सम्बोधनमा उहाँले विशेष ध्यान दिनुपर्छ ।

प्यारेलाल राना (समानुपातिक सांसद कैलाली)

Pyare
नवनिर्वाचित कांग्रेस सभापति देउवा थारुको मागप्रति सकारात्मक राख्नुहुन्छ । थारुको अधिकार सम्बोधन गर्नमा उहाँले यसअघि पनि थुप्रै प्रयास गर्नुभयो । अब सभापति हुँदा अझ प्रयास गरेर थारुप्रति आफू संवेदनशील भएको देखाउनुपर्छ । थरुहट थारुवान संघर्ष समितिले उठाउँदैआएको कञ्चनपुरदेखि चित्तवनसम्मको थारु प्रदेश त सम्भव छैन । तर कैलाली र कञ्चनपुरको आदिबासी थारुको अधिकार सुनिश्चित् गर्नमा उहाँ लाग्नुपर्छ ।

सभापति देउवाले यसअघि कञ्चनपुरदेखि दाङसम्म थारुको बाहुल्यता रहेकाले त्यस क्षेत्रलाई थरुहट प्रदेश बनाउन सक्ने अभिव्यक्ति दिइसक्नुभएकाले त्यसको सम्बोधनमा उहाँ गम्भीर बन्न सक्नुपर्छ । पार्टीमा एक्लै सभापतिले मात्र गरेर हुँदैन, अरुको पनि सहमति र समर्थन लिनुपर्ने भएकाले उहाँले चाहेर मात्र पनि   हुँदैन । तर सभापतिले चाहनुभयो भने त्यसलाई निर्णय गराउन कठिन हुँदैन सांसद रानाथारुले भन्नुभयो ।

सुदूरपश्चिमको विशेष विकासका लागि त्यहाँको हाइड्रोपावर निर्माण, हुलाकी सडकको पूर्णतामा उहाँले ध्यान दिनुपर्छ । राज्यको सबै निकायमा थारु समुदायको पहुँच बनाउन पनि सभापतिले ध्यान दिनुपर्छ रानाले सुझाव दिनुभयो ।

बुद्धिसागर चौधरी (समानुपातिक सांसद, कैलाली)

DSC06983
सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावनाअनुसार चल्न सक्नुपर्छ । थारुको माग जति सम्बोधन भएको छ, त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्छ । अपुग अधिकार सम्बोधनमा पहल गर्नुपर्छ । २०५७ साल साउन २ गते उहाँकै नेतृत्वमा कमैया मुक्ति घोषणा भएको थियो । अहिलेसम्म मुक्त कमैयाहरुको पुनस्र्थापनाको काम हुन सकेको छैन । अब पार्टीको जिम्मेवार पदमा उहाँ पुग्नुभएकाले पुनस्र्थापनाको कामलाई गति दिनुपर्छ सांसद चौधरीले सुझाव दिनुभयो ।

थारुको अधिकारसँगै मधेसी, महिला, दलित, अल्पसंख्यक तथा पछाडि परेका सबै वर्गको अधिकारका लागि उहाँले ध्यान दिनुपर्छ । “कांग्रेस लोकतान्त्रिक पार्टी हो, लेकतान्त्रिक प्रक्रियाअनुसार उहाँले निर्णय गर्न सक्नुपर्छ” चौधरीले भन्नुभयो । सबैभन्दा ठूलो पार्टीको सभापतिको हैसियतले उहाँले सबै नागरिकको भावना जित्ने काम गर्नुपर्ने चौधरीले सुझाव दिनुभयो ।

भोटनीदेवी खवास (समानुपातिक सांसद, मोरङ)

Votani Devi
पार्टीको सभापतिमा निर्वाचित हुनुभएकोमा देउवालाई बधाई दिन चाहन्छुँ । उहाँ आफूलाई लोकतान्त्रिक र सबैको भावनाको सम्मान गर्ने नेताकोरुपमा चिनाउने प्रयास गर्दैआउनुभएको छ । अब राज्यबाट पछाडि पारिएका वर्गको पीडा र मागको सुनुवाई उहाँले गर्न सक्नुपर्छ । तराई मधेसको समस्या समाधानमा उहाँको पहलकद्मी हुन्छ भन्ने मलाई विश्वास छ । थारुको मागबारेमा उहाँ जानकार रहनुभएकाले कार्यान्वयनमा ध्यान दिनुपर्छ । थरुहट प्रदेशका लागि तराईमा थारुहरु आन्दोलनरत छन् । थारुको जायज मागलाई सुनुवाई गरेर उहाँले नेतृत्व क्षमता प्रदर्शन गर्न सक्नुपर्छ ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया