काठमाडौं, चैत ७ गते । देश संघीय संरचनामा गएपछि नेपाल पत्रकार महासंघको संरचनालाई पनि संघीय ढाँचामा लग्नेगरी महासंघले विधान संशोधनको तयारी गरेको छ ।
महासंघले आइतबार केन्द्रीय कार्यालयमा बैठक डाकेर विधान संशोधन गर्ने कि पुनरलेखन गर्ने भन्ने विषयमा सरोकारवाला पक्षहरुसँग परामर्श गरेको छ । नयाँ संविधानअनुसार मुलुक नयाँ संरचनामा प्रवेश गरेकाले महासंघलाई पनि संरचनागतरुपमा बदल्न सरोकारवाला पक्षले सुझाव दिनुभयो ।
महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष शिव गाउँलेले केन्द्र र प्रदेशलाई बलियो बनाएर स्थानीयलाई प्रेस क्लवको संरचनामा लग्दा बढी उपयुक्त हुने सुझाव दिनुभयो ।
महासंघको संरचनालाई पनि केन्द्र, प्रदेश र स्थानीय संरचनामा लग्नुपर्ने र प्रदेशलाई बढी शक्तिबाली बनाउनुपर्ने सुझाव धेरैको छ । समानुपातिक समावेशी सिद्धान्तलाई अङ्गिकार गरेर नयाँ विधान पुनरलेखन हुनुपर्ने अधिकांशको सुझाव छ ।
महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष शिव गाउँलेले केन्द्र र प्रदेशलाई बलियो बनाएर स्थानीयलाई प्रेस क्लवको संरचनामा लग्दा बढी उपयुक्त हुने सुझाव दिनुभयो । पत्रकार शुद्धिकरणको विषय व्यापकरुपमा उठ्ने गरेकाले स्थानीय स्तरमै सदस्यता टुंगो लगाउने जिम्मेवारी दिए स्वतः शुद्धिकरणको शुरुवात हुने उहाँको सुझाव छ ।
महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले समानुपातिक समावेशीकरणलाई नयाँ संविधानले अंगिकार गरिसकेकाले त्यसलाई टेकेरै महासंघको विधान पुनरलेखन गरिने बताउनुभयो ।
पूर्व अध्यक्ष तथा सल्लाहकार डा. सुरेश आचार्यले बढी अधिकार प्रदेशलाई दिएर महासंघको विधानलाई पुनरलेखन गर्नुपर्ने बताउनुभयो । अन्य संघीय मुलुकको पत्रकारको विधान कस्तो छ भन्दापनि नेपालको आफ्नै परिवेशअनुसार महासंघको संरचना गर्न उहाँले सुझाव दिनुभयो ।
पूर्व अध्यक्ष तथा सल्लाहकार धर्मेन्द्र झाले अहिलेको सात प्रदेश र एशोसियटलाई समेत एक प्रदेश मानेर आठ प्रदेशको संरचनामा महासंघलाई लग्न आवश्यक रहेको बताउनुभयो । शुद्धिकरणको सवालमा मताधिकार रहने र नरहनेगरी दुईसूचीमा पत्रकारलाई कायम राखेर शुद्धिकरण गर्न सकिने सुझाव दिनुभयो ।
पूर्व अध्यक्ष तथा सल्लाहकार धर्मेन्द्र झाले अहिलेको सात प्रदेश र एशोसियटलाई समेत एक प्रदेश मानेर आठ प्रदेशको संरचनामा महासंघलाई लग्न आवश्यक रहेको बताउनुभयो ।
महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले समानुपातिक समावेशीकरणलाई नयाँ संविधानले अंगिकार गरिसकेकाले त्यसलाई टेकेरै महासंघको विधान पुनरलेखन गरिने बताउनुभयो । उहाँले नीतिगत नेतृत्व केन्द्रमा, कार्यकारी भूमिका प्रदेशमा र स्थानीय कार्यक्रम स्थानीयतहले गर्नेगरी संगठनात्मक ढाँचा निर्माण गर्न सकिने बताउनुभयो । सरोकारवालाहरुको सुझावको आधारमा महासंघलाई अगाडि बढाउने प्रतिवद्धता उहाँले गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष उपेन्द्र केसी, महासचिव माधव नेपाल, क्रान्तिकारी पत्रकारका विष्णुप्रसाद सापकोटा, आदिबासी जनजाति महासंघका अध्यक्ष डण्ड गुरुङ, मधेसी पत्रकार संघका मोहन सिंह, क्रान्तिकारी पत्रकार संगठनका जन्मदेव जैशी लगायतले महासंघको विधानलाई समानुपातिक र समावेशीताका आधारमा पुनरलेखनको सुझाव दिनुभएको थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष, खिलबहादुर भण्डारी, अनिता विन्दु, महासचिव उजिर मगरसहित अन्य पदाधिकारी र सदस्यहरुको सहभागिता थियो । महासंघको केन्द्रीय साधारणसभा आगामी वैशाख तेस्रो सातासम्म गर्नेगरी महासंघले तयारी गरिरहेको छ ।