६१ औं स्थापना दिवसमा पत्रकार महासंघको प्रभातफेरि


SAM_3480

काठमाडौं, चैत १६ गते । नेपाल पत्रकार महासंघले आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा हरेक वर्षजस्तै मंगलबार विहान यहाँ प्रभातफेरिको आयोजना गरेको छ ।

भृकुटीमण्डपबाट शुरुभएको प्रभातफेरि शहिदगेट हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा गएर टुंगिएको थियो । प्रभातफेरिमा महासंघका पूर्व अध्यक्ष, वरिष्ठ पत्रकार, महासंघका पदाधिकारी सदस्य तथा अन्य पत्रकारको सक्रिय सहभागिता थियो ।

प्रभातफेरिपछि आयोजित कोणसभामा बोल्दै महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले पत्रकारको काम जागीर खानेमात्र नभई मुलुक रुपान्तरणको जिम्मेवारी समेत रहेकाले सृजनात्मक भएर कमल चलाउन पत्रकारसँग आग्रह गर्नुभयो । मुलुकको दीगोशान्ति तथा संविधान कार्यान्वयनका विषयमा अनेक भ्रमहरु सृजना गर्ने प्रयास गरिएकाले त्यस्तो भ्रमलाई चिर्न पत्रकार सक्रिय हुनुपर्ने बताउनुभयो ।

SAM_3504

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि महासंघ दत्तचित्त भएर काम गरिरहेको बताउनुभयो । नयाँ संविधानको कार्यान्वयन, मुलुकको आर्थिक समृद्धिमा समेत महासंघले भूमिका निर्वाह गर्ने उहाँले चर्चा गर्नुभयो ।

मुलुक संघीय संरचनामा गइसकेकाले महासंघलाई समेत संघीय संरचनाअनुरुप लग्ने तयारी भएको र समावेशीतालाई प्रमुख आधार बनाएर अगाडि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । नयाँ संविधान जारी गर्नमासमेत महासंघले सृजनात्मक दवावको कार्यक्रम गरेको र कार्यान्वयनमा समेत भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

महासंघको स्थापना २०१२ चैत १६ गते तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा भएको आधारमा चैत १६ गतेलाई महासंघले स्थापना दिवसकोरुपमा मनाउँदै आएको छ । महासंघले स्थापना दिवसकै अवसर पारेर बुधबार दिउँसो ३ बजे दशरथ रंगशालामा राजनीतिकदलका नेताहरुसँग मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया