बाहिर प्रचार गरिएकोजस्तो नयाँ संविधान उत्कृष्ट छैनः थारु नेताहरु


TJA-15

काठमाडौं, चैत २० गते । थारु नेताहरुले नयाँ संविधान कुनै हालतमा थारुको पक्षमा नरहेकाले संशोधन गर्दै जानुपर्ने माग राख्नुभयो । नयाँ संविधान भनिएजस्तो उत्कृष्ट नरहेको उहाँहरुको दावी छ ।

थारु पत्रकार संघ, नेपाल र हमार पहुरा डटकमको संयुक्त आयोजनामा शनिबार यहाँ आयोजित कार्यक्रममा थारु नेताहरुले त्यस्तो बताउनुभयो । नयाँ संविधानलाई विश्वकै उत्कृष्ट, समावेशी भनिए पनि कार्यान्वयनको जटिलता रहेको भन्दै वक्ताहरुले त्यसको सही कार्यान्वयनसँगै छुटेको विषय संशोधनबाट सम्बोधन गराउन माग गर्नुभयो ।

TJA-04

थरुहट तराई पार्टी नेपालका सचिव मिनराज चौधरीले नयाँ संविधान भनिएजस्तो उत्कृष्ट नरहेको बताउनुभयो । नयाँ संविधानमा अधिकांश थारुको मुद्दा छुटेकाले त्यसलाई संशोधन गरी सम्बोधन गर्न माग गर्नुभयो । उहाँले नयाँ संविधानले थारु, मधेसी, मुस्लिम, पछाडि परेका वर्गको अधिकार सुनिश्चित् नगरेको दावी गर्नुभयो ।

TJA-09

थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष शैलेन्द्र चौधरीले नयाँ संविधानले थारु, मधेसीलगायतको माग सम्बोधन नगरेकैकारण यी वर्गहरु अझै आन्दोलित रहेको बताउनुभयो । थारुको मुख्य माग सम्बोधन भएको छैन, सिमाङ्कन गर्दा थरुहट भूगोललाई सम्बोधन गर्न उहाँले माग गर्नुभयो ।

TJA-07

थारु विद्यार्थी समाजका महासचिव चन्द्रप्रसाद चौधरीले नयाँ संविधानको सही कार्यान्वयनसँगै थारुको मुद्दा सम्बोधनमा जोड दिनुभयो । थारु माग सम्बोधन गराउनकै निम्ति थारु समुदाय आन्दोलित भइरहेको उहाँले बताउनुभयो ।

नेवाः दवुका अध्यक्ष श्रीकृष्ण महर्जनले नयाँ संविधानमा भाषिक भूमरीमा पछाडि परेको वर्गलाई भुल्याउन खोजेको आरोप लगाउनुभयो । भनिएजस्तो संविधान उत्कृष्ट छैन, अझै संशोधन गरेर धेरैको माग सम्बोधन गर्न बाँकी छ उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसद तेजुलाल चौधरी, कृपाराम रानाथारु, थारु कल्याणकारिणीसभाका पदाधिकारी, महिला सभाका तारा चौधरी, थारु अगुवाहरु रामलाल चौधरी, सुशील चौधरी लगायतको सहभागिता थियो । कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ले पत्रकार तथा साहित्यकार लक्की चौधरीको नयाँ कृति हँसौनीको लोकार्पण गर्नुभयो ।

तपाईको प्रतिक्रिया