एमाले नेता बामदेव गौतमको भनाइले थारु नेताहरु आक्रोशित

दंगीशरण राजा थारुकै राजा भएको दावी


Bam

काठमाडौं, चैत ३० गते । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले दंगीशरण थारुको नेता नरहेको बल्की यादवको नेतारहेको भन्ने भनाईप्रति थारु नेता तथा बुद्धिजिवीहरुले गम्भीर आपत्ति जनाएका छन् ।

दाङको दंगीशरण राजा थारुका नेता थिए भन्ने थारु समुदायको दावी रहँदैआएको छ । सो राजाले चलाएको सिक्कासमेत थारुको घरमा अवशेषकोरुपमा रहेको प्रमाणको आधारमा थारु बुद्धिजीवीले दंगीशरण थारुका नेता रहेको तर्क गर्छन् । थारुको आदिमभूमिमध्ये दाङ एउटा रहेको र परापूर्वकालमा थारु बाहेक सो ठाउँमा अन्यको बसोबास समेत नरहेकाले दंगीशरण थारु राजा नै रहेको थारुको बुझाई छ ।

दंगीशरणले राजकाज चलाएको लेखोट र प्रमाणहरु थारुघरमा अद्यापि कायम रहेको दावी गर्दै थारु नेताहरुले इतिहासलाई नखल्बल्याउन आग्रह गरेका छन् । यस विषयमा थारु बुद्धिजिवी महेश चौधरीले समेत दंगीशरण राजकाज र थारुराजा भएको प्रमाणसहित पुस्तकहरु प्रकाशन गरिसक्नुभएको छ ।

अखिल नेपाल किसान महासंघको महाधिवेशनमा अध्यक्षको प्रतिवेदन पेशगर्दै नेता गौतमले दंगीशरण थारुराजा नरहेको प्रतिवेदन पारित गराउनुभएको छ । सो प्रतिवेदनमा गम्भीर त्रुटी रहेको र थारुको पहिचान र अस्तित्व मेटाउने प्रयास भएको बुझाई थारु नेताहरुको छ ।

सांसद तथा थारु अगुवा गोपाल दहितले गौतमको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही ढंगले आएको भन्दै त्यसलाई सच्याउन माग गर्नुभएको   छ । थारुको इतिहास मेटाउनेगरी प्रतिवेदन आएकोभन्दै दहितले त्यसलाई प्रमाणित गरेर देखाउन गौतमलाई चुनौति दिनुभएको छ ।

नेता गौतमले तराईमा न कहिले थरुहट राज्य थियो न मधेसीको राज्य भन्दै प्रतिवेदनमा थारुको इतिहास समेटेर प्रतिवेदन पारित गराउनुभएको छ । सोबारे थारु नेताहरुले आपत्ति जनाएका हुन् ।

के छ प्रतिवेदनमा ?
नेता गौतमको ३९ पृष्ठको प्रतिवेदनमा थारुका विषयमा लेखिएको शीर्षकलाई यहाँ जस्ताकोतस्तै राखिएको छ । हेर्नुहोस् प्रतिवेदनको एक अंशः

२.३. तराईमा मधेस आन्दोलनको वास्तविकता
यसपटक तराईमा मधेस आन्दोलन मानवअधिकार, शान्ति—सुव्यवस्था एवं मानवीय कानूनको विपरीत अत्यन्त उग्र र अराजकरूपमा सञ्चालन भयो । आन्दोलन सुरुगर्दा भाला, तरवार, बन्चरो, लाठी, बन्दुक लिएर परासीदेखि कञ्चनपुरसम्म नेपाल सरकार लेखिएका बोर्ड हटाएर थरुहट सरकार र पर्सादेखि झापासम्म सोही तरिकाले नेपाल सरकार लेखिएका बोर्ड हटाएर मधेस सरकारका बोर्डहरु राख्ने उद्देश्य राखियो । तदनुरूपको आन्दोलनको सुरु उद्घाटन कैलाली जिल्लाको टिकापुर नगरपालिका क्षेत्रमा पूर्वनियोजित रूपमा सम्पूर्ण घरेलु हतियार र बन्दुकसमेत प्रयोग गरेर प्रहरी प्रशासन र सर्वदलीय बैठकका सहभागीहरुलाई धोखा दिएर ८ जना निहत्था नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रहरी कर्मचारीकै दुधे बच्चा एकजना समेत नौ जनालाई गोली हानेर, भाला रोपेर, जिउँदै आगोमा हालेर मारियो । त्यसपछि तौलिहवा, भैरहवा, वीरगंज, गौर, जलेश्वर, जनकपुर, राजविराज, भारदह र मोरङको रंगेलीमा गैरमधेसिया भनिनेहरुलाई लखेट्ने, तराइमा नेपाल राज्य समाप्त गर्ने र हिंसात्मक गतिविधि बढाउने कामहरु भए । यो आन्दोलनको भित्री माग एउटा मात्र थियो । नेपालको दक्षिणीक्षेत्र तराईलाई पहाडबाट अलग गर्ने र वहुराष्ट्रिय राज्यको भ्रमपूर्ण सिद्धान्त अन्तर्गत झापादेखि पर्सासम्म एउटा मधेस राष्ट्र र नवलपरासीदेखि कञ्चनपुरसम्म अर्को थरुहट राष्ट्रकारूपमा राज्यहरु निर्माण गर्ने । यस मागलाई सके संविधानमै उल्लेख गरेर पुरागर्ने नभए तराईमा विद्रोह गरी नेपाल राज्य समाप्त गरी स्वतन्त्र राज्य घोषणा गर्ने तहसम्म पु¥याउने थियो । यही मागलाई पुरा गराउन सहयोग पुगोस् भनेर लागु गरेको नेपाल विरुद्धको नाकाबन्दी लामो समयसम्म रह्यो । यो आन्दोलन नेपालको संविधानको अन्तिम मस्यौदा जनताबीच छलफलका लागि लगेपछि सुरुभएको थियो । आन्दोलनकोस्वरुप मुलतः राष्ट्रिय स्वतन्त्रता, अखण्डता एवं सार्वभौमसत्ताको विरुद्धमा थियो ।

नेपालमा मधेस राष्ट्र कहिल्यै थिएन, मधेस नामको राज्य पनि कहिल्यै भएन । यतिमात्र होइन, मधेस नामको स्थान पनि थिएन । पौराणिक कालको कुनै समयमा आजको जनकपुर क्षेत्रमा विदेह राज्यको केन्द्र थियो । त्यसबेला त्यो राज्य हिमालदेखि गंगासम्म फैलिएको थियो । नेपाल पनि केही काल त्यसमै समाहित थियो । रहुगण वंशीय मिथि नामक नायकका उत्तराधिकारी सबै विद्रोहमा पराजित भए र विदेह राज्य समाप्त भएको थियो । कालान्तरमा पुरानो त्यो क्षेत्रमा समेत सिम्रौनगढ राज्य स्थापित भएको थियो । त्यो पनि दिल्लीका सुल्तानको आक्रमणबाट ध्वस्त भएपछि त्यहाँका अन्तिम राजा हरिसिंहदेवले काठमाडौंमा शरण लिएका थिए । उनी र उनका सन्तान ६० वर्ष ललितपुरको राजगद्दीमा बसेका थिए । पछि तराईको त्यो भू–भाग पाल्पाली सेनराज्य अन्तर्गत आयो । १८ आंै शताब्दीको अन्त्यसम्ममा सम्पूर्ण सेनराज्य नेपाल राज्यमा समाहित भयो । नेपाल राज्य अन्तर्गत नआउँदासम्म सेनहरुको राज्य अन्तर्गत राप्तीदेखि टिस्टासम्म र दक्षिणमा कतिपय ठाउँमा गंगासम्मका क्षेत्रहरु रहेका थिए ।

इतिहासको कुनै कालखण्डमा भारतको आजको उत्तरप्रदेशको ठूलो हिस्सामा मध्यदेश थियो । त्यहाँका व्यापारीहरु नेपालमा व्यापारका निम्ति आउँथे । त्यसबेला नेपाल तिब्बत र भारतकाबीचको पारवहन विन्दु थियो । यसको महत्त्व ज्यादै बढेको थियो । नेपालीहरुले ती व्यापारीलाई मध्यदेशको पहिचान दिँदा जनबोलीमा त्यो ‘मधेसी’ भयो । नेवारी भाषाको जनबोलीमा ‘मस्र्या’ भन्ने गरियो । यही मध्यदेश लामो समयसम्म मगध साम्राज्य मातहत रह्यो । नेपालको दक्षिणक्षेत्रमा वर्षको धेरै समयसम्म गर्मी हुने हुनाले त्यहाँका जनतामा धोतीमात्र लगाउने चलन थियो । कालान्तरमा काठमाडौं उपत्यकामा देखापर्ने त्यस किसिमको भेषभूषाका मानिसहरु सबैलाई ‘मधेसी’ भन्न थालियो । तर पनि ‘मधेसी’ भनेर सो व्यक्तिले नसुन्ने गरी मात्र भनिन्थ्यो किनकि नेपालीले आफूलाई ‘मधेसी’ भनेर बोलाउँदा अपमान ठान्थे । पुरानो मध्यदेशको केही हिस्सालाई समावेश गरी अहिले भारतमा मध्यप्रदेश बनाइएको छ ।

नेपालमा थरुहट राज्य पनि कहिल्यै अस्तित्वमा नै थिएन । कतिपय नृतत्त्व शास्त्रीहरुले गौतमबुद्धका सन्दर्भमा शाक्य र कोलीय समुदायहरु थारू हुन् भन्छन् । कतिपयले मौर्यहरुलाई पनि थारू भनेका छन् । मौर्यवंशमा सम्राट अशोकको नाम गौरवकासाथ लिइन्छ । यसअर्थमा भन्नुपर्दा थारूजाति कुनै बेला महाजातिको रूप लिइसकेको जाति हो भन्ने बुझिन्छ । बुद्ध साहित्यमा स्थावीर भन्ने पदवीको चर्चा छ । शाक्य गणराज्यमा स्थावीर भनेर स्वतन्त्र किसानलाई भनिन्थ्यो । त्यसबेला त्यहाँ राज्य सञ्चालन गर्ने उच्चवर्ग स्वतन्त्र किसान र दासहरु थिए । “स्था” भनेको स्थान र “वीर” भनेको मालिक यसरी बुझ्दा स्थावीर भनेको जमिनको मालिक हुन्छ । त्यही स्थावीर कालान्तरमा जनबोलीमा थारू भएको भन्ने कुरामा अब दुईमत छैन । थारू नेपालका आदिवासी भएको कुरामा कुनै विवाद छैन तर थरुहट राष्ट्र र राज्य भएको कुरालाई तथ्यसङ्गत मान्न सकिन्न । आदिवासी हुँदैमा सबै जाति राष्ट्रमा विकसित भैसकेको मान्न पनि सकिन्न । थारूहरुले आफूलाई जनजाति भनेर गौरव गरेको यथार्थ पनि आज हाम्रा सामु छ ।
दाङमा १६ औं शताब्दीतिर दंगीशरण नामगरेका यादवले राज्य खडागरेको इतिहास पाइन्छ । कालान्तरमा उनका सन्तानहरुले थारूभाषा र थारू संस्कारलाई सकारेपछि थारू जातिमै समाहित भएका थिए । उनको राज्य लामो समय रहेन । खस राज्यको आक्रमणमा दाङराज्य टुटेपछि अरू रजौटाका मातहत गएको हो । दंगीशरणका कतिपय सन्तानले आफूलाई दहित भन्दछन् । अथवा दुध दुहुने भनेर परिचय दिएका छन् । दंगीशरणले राजगरेका कारण दाङ नाम रहन गएको पनि कतिपयले भन्दछन् । तर कतिपयले त्यो क्षेत्रको पहिले नै दाङ नामकरण भइसकेको थियो पनि भन्दछन् । ती यादव राजाले त्यहाँका थारू समुदायलाई सम्मान गर्न आफूलाई तिमीहरुको शरणमा आएको छु भन्ने अर्थ बुझाउन आफूलाई दंगीशरण भनेको कुरापनि अर्थ लगाउँछन् । किनकि दंगीशरण दाङका मूल वासिन्दा नभई बाहिर कतैका थिए । दंगीशरणको राज्य वास्तवमा राज्यमा विकसित नभइसकेको रजौटाको अवस्थाको मात्र थियो ।
आज थारू जातिका जनता नेपालको कञ्चनपुरदेखि झापासम्मको चुरेभावर क्षेत्रमा बसोवास गरेका छन् । यो क्षेत्रमध्ये दाङदेखि कञ्चनपुरसम्म थारु समुदायको बाक्लो बसोवास पनि छ । तर यहाँ पनि एक्लै राष्ट्रको रुपमा विकसित थारुजाति छैन । अहिले समग्रमा नेपालका सबै जातीय समुदायसँग मिसिएर मात्र थारू जातिका जनता पनि राष्ट्रका रूपमा विकसित भएको मान्न सकिन्छ ।

उपर्युक्त सबै ऐतिहासिक तथ्यहरुबाट के स्पष्ट हुन्छ भने आजको नेपालभित्र नेपाल भन्दा पृथक् अर्को कुनै राष्ट्र छैन र राज्य पनि छैन । नत विगतमा कहिल्यै थरुहट राज्य थियो न मधेश राज्य नै । आज कुनै विदेशीको उक्साहटमा मधेस र थरुहटको नाममा राष्ट्र माग्दैमा त्यो अवास्तविक कुरा वास्तविक हुनसक्दैन ।

‘मधेश’ आन्दोलनको नाममा फैलाइएको अर्को भ्रम हो पहाडिया राजा र पहाडिया समुदायले तराइलाई आफ्नो शोषणको थलो वनाएका छन् । वास्तवमा तथ्यहरुको इमान्दारि साथ विश्लेषण गर्ने हो भने यो विल्कुल झुटो सावित हुन्छ । मधेस आन्दोलनको नाममा छुट्टै राज्य प्राप्तगर्ने प्रपञ्चलाई सावित गर्नको निम्तिमात्र यो झुटो प्रचारवाजी गरिएको हो । यथार्थमा भन्ने हो भने तराइका सामन्तहरु, जमिन्दार र व्यापारीहरुले नेपालको अर्थतन्त्रमा लामो समयसम्म एकाधिकार कायम गरेका थिए । आज पनि नेपालको अर्थतन्त्रमा तराइ केन्द्रित आर्थिक केन्द्रहरुमा यिनिहरुकै पकड छ । तराइमा ठूलो सङ्ख्यामा दलित, अपहेलित र पिछडा वर्गका जनतामाथि अमानवीय उत्पीडन गर्ने, आर्थिक शोषण गर्ने, तराइका तिनै सामन्त र जमिन्दारहरु हुन् । अहिलेकोे मधेस आन्दोलनमा तिनिहरुकै प्रभाव सवभन्दा बढी छ । उनिहरुको मागमा तराइका गरिब, भूमिहीन, शोषित, पीडित जनताको मुक्तिको माग छैन । उनीहरुले मुक्तिको माग उठाउन पनि सक्दैनन् किनकी त्यहाँ शोषण, उत्पीडन गर्ने मुख्य व्यक्तिहरु अहिले देखा परेका आन्दोलनकारी नै हुन् ।

नेपालको तराई वा पहाडमा भएको शोषण र उत्पीडनको मुख्य रुप सामाजिक र आर्थिक हो, जातीय र सामुदायिक होइन । यो शोषणबाट मुक्ति सामाजिक—आर्थिक रुपान्तरणबाट मात्र सम्भव हुन्छ । नेपालमा भएको सामाजिक उत्पीडनको मुख्य रुप वर्णाश्रमको आधारमा जातिभेद र छुवाछुत हो । यो शोषण र उत्पीडन पहाड र तराइमा एउटै प्रकृतिको छ र यसको अमानवीय पक्ष पहाडमा भन्दा तराइमा बढी देखिन्छ । यो शोषणका मुख्य वाहक तराइका होउन् वा पहाडका, सामन्त जमिन्दार नै हुन् । जातिका हिसावले तराइका व्राह्मण, ठाकुर, यादव र व्यापारी तथा पहाडका पनि व्राह्मण, क्षेत्री, ठकुरी र व्यपारी समुदायका सामन्त जमिन्दारहरु नै हुन् । यद्यपि अरु जाति भाषाका पनि सामन्त जमिन्दारहरु रहेका थिए । उपरोक्त जातिहरुभित्र गरिब, दुखी, शोषित, पीडित नै अत्याधिक संख्यामा रहेका छन् । उच, नीचको जातिभेद र छुवाछुतको चलन चलाउने पनि तिनै सामन्त जमिन्दारहरु नै हुन् । पहाडमा पनि उनै र तराइमा पनि उनै छन् । यो उत्पीडनको पक्षलाई ढाकछोप गर्नकै लागि तराइका उच्चवर्ग र जातिका नेताहरुले पहाडिया समुदाय र तराई समुदायका कुरा उठाएका छन् । जवकी पहाडमा पहाडिया समुदाय छैन र तराईमा पनि तराई समुदाय छैन ।

राजा जुनसुकै समुदायको भए पनि उसले गर्ने शोषण र उत्पीडन एउटै प्रकृतिको हुन्छ । वि.स. १९९७ सालमा राजाको लालमोहरबाट राणाशासकहरुले दिलाएको मृत्युदण्डमा पर्नेहरु सबै पहाडमै वसोवास भएकाहरु थिए । शासन गर्दा मनुस्मृतिलाई आधार वनाएरै भारत नेपालका पुराना सबै राजाहरुले शासन गरेका हुन् । जयस्थिति मल्ल मधेशी मूलकै पहाडमा राज्य खडा गरेका राजा थिए जसले नेपालमा पहिलो पटक मनुस्मृतिमा आधारित अमानवीय शासन व्यवस्था लागु गरेका थिए ।

सामन्तीकालमा भूदास प्रथामा आधारित आर्थिक केन्द्रहरु तराईमा नै थिए । त्यतिबेला विकसित भइरहेको पुँजीवादका केन्द्रहरु पनि तराइमा नै हुर्कीरहेका थिए । निर्वाहमुखी घरेलु उद्योगहरुको स्थान आधुनिक उद्योगहरुले लिन थालेपछि तिनै पुराना केन्द्रहरु नै आधुनिक केन्द्रका रुपमा विकसित भए । २००७ सालको क्रान्तिपछि नेपालका आर्थिक केन्द्रहरु काठमाण्डौं पछि विराटनगर, धरान, विरगञ्ज, भैरहवा, बुटवल, कृष्णनगर, कोइलावास, नेपालगञ्ज, धनगढी विकसित भएका हुन् । तराइका आर्थिक केन्द्रका मुख्य वजारका उपभोक्ताहरुमा तराई भन्दा पनि पहाडका जनता धेरै छन् । सेती महाकालीका कैलाली, कञ्चनपुर सहित पहाडका ७ जिल्लाहरुको आर्थिक केन्द्र धनगढी वनेको छ । त्यस्तै भेरी र कर्णालीको नेपालगञ्ज, राप्तीको कोइलावास र कृष्णनगर, लुम्विनी, गण्डकी र धवलागिरीको बुटवल र भैरहवा आर्थिक केन्द्र वनेका छन् । वाग्मती र नारायणीको आर्थिक केन्द्र विरगंज र सगरमाथा र जनकपुरको आर्थिक केन्द्र जनकपुर तथा कोशी र मेचीको विराटनगर र धरान आर्थिक केन्द्र वनेका छन् । यतिवेला पनि यिनै केन्द्रहरु आजको नेपालका मुख्य आर्थिक केन्द्र हुन् । यी सबै केन्द्रका उपभोक्ता र वजार मुख्य गरी पहाडवासीहरु नै हुन् । अहिले तराइ र पहाडका जिल्ला सदरमुकाम तथा नगरपालिकाहरु नेपाली अर्थतन्त्रका सहायक केन्द्रका रुपमा विकसित भएका छन् । नेपाली अर्थतन्त्रको मुख्य संचालक जातिगत हिसावले भन्दा अहिले पनि मारवाडीहरु हुन् र तराईका सबै आर्थिक केन्द्रहरुका मुख्य संचालकहरु पहाडियाहरु होइनन् तराइकै साहु महाजनहरु रहेका छन् । पहिले नै विकसित भइसकेको काठमाण्डौ र पछि विकसित भएका पहाडका आर्थिक केन्द्रहरुमा तराइकै साहु, महाजनहरुको मुख्य लगानी रहेको देखिन्छ । तराई र पहाडमा विकसित भएका औद्योगिक केन्द्रहरुमा तराइबासी पुँजीपतिहरुकै प्रभाव रहेको छ ।

उपर्युक्त तथ्यहरुको विश्लेषण गर्ने हो भने पहाड र पहाडियाको शोषण थलो तराई तथा मधेश भयो भन्ने कुरा निराधार आरोप मात्र हो भन्ने प्रष्ट हुन्छ । बरु के कुरा स्पष्ट छ भने तराइका आर्थिक केन्द्रबाट उपभोक्ताहरु शोषित छन् भने त्यसमा पहाडका नै सवभन्दा धेरै छन् । पहाडबाट पछिल्लो समयमा तराइमा आप्रवासन गरेका जनता नै त्यस पछिका मुख्य उपभोक्ता वनेका छन् । पहाड र ‘पहाडिया’ लाई आरोप लगाएर तराई र पहाडका नेपाली जनताबीच वैमनस्यता फैलाउने कुत्सित प्रयत्न भन्दा अरु यसमा केही छैन ।

आज नेपालको तराइमा चाहिएको सामाजिक मुक्ति र आर्थिक समृद्धि हो । वर्गीय विभाजन मुख्य भैसकेको राष्ट्रमा जातीय विभाजन मुख्य विषय हुन सक्दैन । राष्ट्रका रुपमा विकसित भइसकेको जातिभित्र जातीय मुक्ति भ्रम भन्दा अर्को हुन्न । नेपाली समाज इसाको पहिलो शताब्दीसम्म दास प्रथाको अवस्थामा थियो । इ.पूं करिव सातौं शताब्दी तिर विदेह राज्य(आजको जनकपुर) का राजा सिरध्वज(जनक) की छोरी सीताको विवाहमा गएका रामचन्द्रलाई वजारमा विक्रिका निम्ति राखिएका दासी युवतीहरु देखाइएको कुरा रामायणमा उल्लेखित छ । त्यस्तै शाक्य गणराज्यमा इ.पू. करिब पाँचौं शताब्दीमा कोशलका राजालाई झुक्काएर शाक्य राजकुमारी भनेर दासी पुत्रीसँग विवाह गराएको कुरा बुद्ध साहित्यमा पाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने नेपाली समाजमा तराई क्षेत्रमै सबभन्दा पहिले दास—मालिक व्यवस्थाको वर्ग विभाजन देखा परेको थियो र त्यो इ.पू. सम्म रहेको थियो । इशाको पहिलो शताब्दीमा मगधको आक्रमणबाट पराजित वैशालीका लिच्छबी राजा मानदेव आफ्नो समुदाय सहित शरण लिन काठमाण्डौमा आइपुगेका थिए र उनी वैशालीमै वंशगत राजतन्त्रका राजा भइसकेका थिए । यसको मतलब हाम्रो तराइमा दास व्यवस्था समाप्त भइ ईशाको पहिलो शताब्दीमा आइपुग्दा सामन्तवादी व्यवस्था कायम भइसकेको थियो । काठमाण्डौमा शरण लिन आएका लिच्छवीहरुले दासमूलक अवस्थामा रहेको किराँत राज्यमाथि कब्जाका साथै भूदास प्रथामा आधारित सामन्ती व्यवस्था काठमाण्डौमा स्थापित गरेका थिए ।

पौराणिक कालका सबै राज्यहरु दास—मालिक व्यवस्थाका थिए । ईशाको पहिलो शताब्दीदेखि नेपालमा सामन्ती राज्यको स्थापना हुन शुरु भयो । पछि विकसित भएका सिम्रौनगढ राज्य होस् या सबै सेन राज्यहरु सामन्ती राज्य नै थिए । गोरखाली राज्य पनि सामन्ती राज्य नै थियो । सामन्ती राज्य व्यवस्थालाई पुँजीवादी राज्य व्यवस्थामा रुपान्तरण गर्ने कामको थालनी २००७ सालको क्रान्तिले गरेको थियो । त्यसपछिका सामन्तवाद विरोधी संघर्षहरु २०१५ सालसम्म सशक्त रुपमा पहाडमा भन्दा तराइमा भएका थिए । आफ्नै आँखाले सामन्तवाद विरोधी संघर्ष देखेका राजा महेन्द्रले आफ्नो निरंकुश शासन कालमा सवभन्दा पहिले अमानवीय सामन्ती शोषणको अन्त्य गर्ने कामको थालनी गरे । जमिनमा रहेको सामन्तवादलाई अन्त्य गरी पुँजीवादी उत्पादनमा लैजानकै निम्ति उनले २०२१ सालमा राष्ट्रव्यापी भूमिसुधार लागु गरेका थिए । तर, तराइमा भूदास प्रथामा आधारित सामन्तवादले अति वलियो गरी जरा गाडेको हुनाले त्यो पूर्ण रुपले समाप्त हुन   सकेन । अहिले त तराइमा ठूलो मात्रामा व्यवसायिक कृषि उत्पादन सुरु भइसकेको छ । यद्यपि पहाडमा भन्दा तराइमा जातिभेद, उचनिच, महिला हिंसाका अमानवीय शोषण दमन, थिचोमिचो कायम छन् । पहिलेका तिनै सामन्त जमिन्दारहरु पहाडियाको उत्पीडनबाट मुक्तिका भ्रामक कुराहरु वोकेर हिडेका छन् । यसो गरेर उनीहरुले आफ्नो शोषण र उत्पीडनमाथि पर्दा लगाउन सकिन्छ भन्ने छुद्र भ्रम पालेको देखिन्छ ।

वास्तवमा तराइका वहुसङ्ख्यक जनता तिनै पुराना सामन्ती जमिन्दारबाट उत्पीडनमा परेका छन् । तिनीहरुले जनताको आधारभूत तहका गरीब र उत्पादक जनतालाई शोषण, दमन, जतिभेद र छुवाछुतको अवस्थामा राखिरहेका छन् । तराइका जनताका निम्ति सामन्ती शोषणका अवशेषबाट मुक्ति, भूमिमाथि वास्तविक उत्पादक किसानहरुको हक स्थापना, तिब्र गतिमा कृषिको वजारीकण र औद्योगीकरण नै आजका मुख्य माग हुन् । सिंचाई, विकसित विउ, विजन, कृषि उपचार, वजारको व्यवस्थापन, जातिभेद र छुवाछुतलाई कडाइका साथ उन्मुलन, महिलामाथिको हिंसाको अन्त्य र सबै जनतालाई सुविधासम्पन्न आवासको व्यवस्थापन तराइका जनताका ज्वलन्त माग हुन् । कृषि विकासका लागि पुनः भूमिसुधार, चक्लाबन्दी, वाहै्र महिना सिंचाई, उत्पादनमा अनुदान, कृषि र पशुपंक्षिको बीमा व्यवस्था, सुविधासम्पन्न शिक्षा र स्वास्थ्य सेवा आदि पनि तराइका मुख्य माग हुन् । यी विषयलाई ‘मधेश’ केन्द्रीत दलहरुले कहिल्यै पनि सशक्त रुपमा उठाएनन् ।

तपाईको प्रतिक्रिया