सञ्चार क्षेत्रलाई समावेशी बनाउन नेवा दबुको माग


काठमाडौं, वैशाख १६ गते । नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन र नेपाल पत्रकार महासंघको सदस्यता वितरणलाई सहज बनाउन माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघलाई विहीबार ज्ञापनपत्र बुझाएको छ ।

चितवनमा २१ गते हुन गैरहेको महासंघको केन्द्रीय साधारणसभालाई मध्यनजर गर्दै सञ्चारग्रामस्थित महासंघको कार्यालयमा नेवाः पत्रकारका अध्यक्ष श्रीकृष्ण महर्जनले महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई सो ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष महर्जनले नेपाली पत्रकारितालाई समावेशी गर्न र मातृभाषाको पत्रकारिताको विकास र विस्तारको लागि थप सहुलियतका लागि महासंघले ठोस पहल गर्नुपर्ने माग राख्नुभयो ।

वि.सं. २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दाको अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने माग समेत नेवा दबुले गरेको छ ।

ज्ञापनपत्र बुझाउँदै अध्यक्ष विष्टले ज्ञापनपत्रमा उल्लेखित मागप्रति समर्थन जनाउँदै पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको संरचना बनाउन थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । योग्यता पुगेका पत्रकारहरुले सहज रुपमा सदस्य बन्न पाउनुपर्ने र पत्रकारहरुको शुद्धिकरण अभियान चलाउने उहाँले बताउनुभयो ।

महासंघका अध्यक्ष विष्टले परिवर्तित अवस्थामा पत्रकार महासंघ र नेपालको सन्दर्भमा समग्र पत्रकारिताको परिभाषा नै पुनःपरिभाषित गर्नुपर्ने खाँचो औल्याउनुभयो । पत्रकार महासंघप्रति सबैको अपनत्व हुनुपर्ने त्यो अपनत्व कुन रुपमा रहने भन्ने कुरामा हामी निरन्तर छलफल र सहकार्य गरेर अघि बढ्नुपर्छ अध्यक्ष विष्टले जोड दिनुभयो ।

ज्ञापनपत्रमा नेपाली पत्रकारितामा समाचारकक्ष विविध जातजाति, भाषाभाषी लैङ्गिक दृष्टिले समावेशी हुनुपर्ने र त्यसो भएमा समाचारको अन्तर्वस्तुमा विविधताले स्थान पाउनुपर्ने माग गरिएको छ ।

यसैगरी ज्ञापनपत्रमा  ९० वर्ष अघि नेपाल भाषामा पत्रकारिता गर्नुहुने धर्मादित्य धर्माचार्य  (जगतमान वैद्य) लाई पहिलो मातृभाषाको पत्रकारकोरुपमा घोषणा गर्नुपर्ने र वि.सं. २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दाको अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने माग समेत नेवा दबुले गरेको छ ।

तपाईको प्रतिक्रिया