संघर्ष समितिले गरेको आन्दोलनप्रति युवा स्वयमसेवकको असहमति


DSC09117

नेपालगञ्ज, वैशाख २५ गते । केहीदिन अघिमात्र देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलनप्रति थारु युवा स्वयमसेवकले असहमति प्रकट गरेको छ । विना तयारी आन्दोलनको कार्यक्रम घोषणा भएकाले सफल गर्न नसकिने सो संघको बुझाई छ ।

बाँकेको नेपालगञ्जमा शनिबार भएको थरुहट आन्दोलनको वर्तमान अवस्था र सम्भावित निकास विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गरेर स्वयमसेवक संघ त्यस्तो निक्र्यौलमा पुगेको हो । संघका केन्द्रीय अध्यक्ष महावीर चौधरीले आन्दोलनबारे व्यापक तयारी विना घोषणा भएकाले त्यसलाई सफल पार्न चुनौति रहेको बताउनुभयो । “विना तयारी घोषणा हुने आन्दोलनलाई निस्कर्षमा पु¥याउन गाह्रो हुन्छ, त्यसैले हामी कार्यक्रमप्रति असहमति प्रकट गरेका हौं” चौधरीले भन्नुभयो ।

नौ महिनादेखि थारु समुदाय आन्दोलित रहेपनि सरकारले माग सुनुवाई नगरेकाले आदिबासी जनजाति, थारु, मधेसी, पछाडि परेका सबै वर्गको एकसाथ दवाव कार्यक्रम आवश्यक रहेको कार्यक्रमले ठहर गरेको छ ।

कार्यक्रममा थारुहट सर्घष समिति बाँकेका संयोजक फुलाराम थारुले अहिलेको आन्दोलनले थारुहरुको माग पुरा नहुने बताउनुभयो । आन्दोलनअघि थारुहरुको एकतागरी गाँउगाँउमा अभियान सञ्चालन गर्न आवश्यक रहेको उहाँले तर्क गर्नुभयो । हाम्रा माग पुरा नहुँदासम्म आन्दोलन कदाईका साथ अगाडि बढाउनुपर्छ थारुले भन्नुभयो ।

banke3

एमाओवादीका पूर्व सांसद पत्तु थारुले कैलालीको टिकापुरको घटनालाई राजनैतिक मुद्दा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । सरकारले जेलमा रहेका आन्दोलनकारीलाई नछोड्डासम्म आन्दोलनको प्रक्रिया जारी राख्नुपर्छ उहाँले भन्नुभयो । सरकार आफैले थारुको माग पूरा नगरेर मुलुकलाई अर्को द्वण्द्वमा लग्ने प्रयास गरेको उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य लाहुराम थारुले कैलाली जिल्लामा थारुमाथी भइरहेको दमन र धरपकड बन्द नगरेकाले तत्काल दवावमूलक आन्दोलनका कार्यक्रम अगाडि बढाउनु पर्ने बताउनुभयो ।

एमालेका बाँके जिल्ला सदस्य चन्द्रबहादुर चौधरीले थारुहरु आफ्नो मागप्रति अडिग रहनु पर्ने बताउनुभयो । विद्यार्थी नेता सिताराम थारुले थारु समुदाय र समाजका लागि पार्टीभन्दा माथि उठेर संघर्ष गर्न आवश्यक रहेको बताउनुभयो ।

थारु यूवा तथा विदा्र्थी नेता अबिनाश चौधरीले युवाहरुको सक्रियतामा शसक्त आन्दोलन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहजीकरण सन्तोष चौधरीले गर्नुभएको थियो । थरुहट संघर्ष समितिले वैशाख २४ देखि जेठ २ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जेठ २ गते थरुहट जिल्लामा आमहडतालको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया