सरकार विरुद्धको यस्तो थियो कांग्रेस र एमाओवादीको तयारी


Deuba

काठमाडौं, वैशाख २६ गते । झन्नै सरकार फेर्ने तयारीमा रहेका नेपाली कांग्रेस र एमाओवादीबीचको साँठगाँठले राजनीतिक बृत्तमा ठूलो हलचल ल्यायो । प्रमुख तीन दलबीचको आन्तरिक गम्भीर विषय पनि बन्यो ।

ओली नेतृत्वको सरकारलाई फेरेर आफ्नो नेतृत्वको सरकार बनाउने तयारीमा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्ततः एमालेसँग नै नौबुँदे सहमति गरी कांग्रेसलाई लोप्पा खुवाए । त्यसलाई कांग्रेसले धोखाको संज्ञा दियो ।

कांग्रेस भित्र आन्तरिकरुपमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रश्न चिन्ह पनि लगायो । अझै यो विषय सेलाइसकेको छैन । एमाओवादी र एमालेबीचको नौ बुँदे सहमतिको विषय त सार्वजनिक भइसकेको छ । बजेट पछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने जेन्टलमैन एग्रिमेन्ट भएको आरोप लाग्दै आएको छ । तर सत्तापक्ष दलका नेताहरुले त्यस्तो कुनै सहमति नभएको तर्क गर्दैआएका छन् ।

सरकार फेर्ने बहस ततातो भइरहँदा कांग्रेस र एमाओवादीको आन्तरिक तयारी के थियो ? भन्ने विषयमा जानकारी लिऔं ।

हस्ताक्षर हुन नसकेको तर चर्चित भएको हेरौं दुई दलबीच गर्न ठीक्क भएको सातबुँदे सहमतिको बुँदाः

१. नेपालको संविधानबारे देशभित्र मधेसी, आदिवासी जनजाति, दलितलगायत पक्षले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै राजनीतिक दलहरुको सहमतिका आधारमा संविधानमा आवश्यक संशोधनको वातावरण बनाउने।
२. नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको ऐतिहासिक उपलब्धीको रक्षा गर्दै संविधान बमोजिम आवश्यक कानुनी व्यवस्था गर्ने।
३. सक्रमणकालीन न्यायको विषय सम्बोधन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तामा छानविन आयोगसँग सम्बन्धित कानुनमा आवश्यक संशोधन गरी समाजमा शान्ति, मेलमिलापको स्थिति बनाउन आयोगहरुलाई प्रभावकारी रुपमा काम गर्ने वातावरण बनाउने। सशस्त्र संघर्षको क्रममा मारिएका मृतकका परिवार, बेपत्ता व्यक्तिका परिवार, अंगभंग र द्धन्द्धका क्रममा विस्तापित परिवारले पाउनुपर्ने क्षतिपूर्ति रकम उपलब्ध गराउने। सशस्त्र संघर्षको अवधिमा भएका जग्गा विवाद सहमतिका आधारमा समाधान गर्ने।
४. वि।सं। २०७२ साल वैशाख १२ र २९ गएको भूकम्पबाट भएको क्षतिको विवरण लिई भूकम्पपीडितको राहत तथा पुनस्स्थापनाका लागि पुनर्निर्माण कार्यलाई राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउने।
५. देशमा शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति गर्दै कालोबजारी, कृत्रिम अभाव, महंगीको अवस्था अन्त्य गरी दैनिक उपभोगका सामाग्रीको सहज उपलब्धीको व्यवस्था गर्ने।
६. नेपालको संविधानले परिकल्पना गरे बमोजिम देशमा शान्ति, स्थिरता र सुशासनको प्रत्याभूति गर्दै आर्थिक समृद्धि तथा विकासका अभियान संचालन गर्ने।
७. नेपाली कांग्रेस र एमाओवादीको संयुक्त सरकार गठन गर्ने। दुबै दलको सहमतिमा संसदमा रहेका अन्य दललाई सरकारमा सहभागी गराउने। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने। ……महिनापछि वि.सं. ….. साल …… महिना ….. गतेदेखि संघीय संसदको निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने।

हस्ताक्षर                                                हस्ताक्षर
शेरबहादुर देउवा                                       प्रचण्ड

तपाईको प्रतिक्रिया