गठबन्धनले मंगलबार बालुवाटार घेर्ने, माइतीघरमा सामान्य झडप


Morcha1

काठमाडौं, जेठ ३ गते । संघीय गठबन्धनले भोलि मंगलबार वालुवाटार घेराऊ गर्ने निर्णय गरेको छ । गठबन्धनले सिंहदरबारपछि वालुवाटार सर्ने निर्णय गरेको हो ।

सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमानस्थानमा कब्जा गरी दुई दिनदेखि धर्ना प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको छ ।

आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेर्न लागेको जनाएको छ । गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार जुट्ने उर्दी जारी गरेका छन् ।

SAM_4225

माग सम्बोधन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताउनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनका कार्यकर्ता र प्रहरीबीच सोमबार सामान्य झडप भएको छ । गठबन्धनका कार्यकर्ता र प्रहरीबीच काठमाडौंको माइतीघर मण्डलामा झडप भएको हो ।

टाउकामा लिम्बुवान लेखेको पट्टि बाँधेका गठबन्धनका कार्यकर्ताले प्रहरी घेरा तोडेर निषेधित क्षेत्रमा जान खोजेपछि झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले लाठी प्रहार गरेको थियो । प्रहरीको लाठी प्रहारबाट गठबन्धनका केही कार्यकर्ता घाइते भएका छन् ।

SAM_4220

आक्रोशित कार्यकर्तालाई गठबन्धनकै केही नेताले संयमित तुल्याएपछि करिब आधा घण्टाको तनावपछि माइतीघर मण्डलाको स्थिति सामान्य बनेको आन्दोलनमा सहभागी मिनराज थारुले बताउनुभयो । थारुका अनुसार तीनजना भिजलान्तेले लुकेर ढुंगामुढा गरेपति स्थिति विग्रेको हो । सोमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सामान्य झडपबाट तीनजना आन्दोलनकारी घाइते भएको थारुले बताउनुभयो । लिम्बुवान र जनमुक्ति पार्टीका कार्यकर्ता घाइते भएको उहाँले जानकारी दिनुभयो ।

SAM_4232

गठबन्धनका नेता तथा कार्यकर्ताले माइतीघर मण्डलाका अतिरिक्त हनुमानस्थनमा पनि धर्नालाई निरन्तरता दिएका छन् । धर्नाकाकारण सिंहदरबार आसपासको क्षेत्रको यातायात प्रभावित बनेको थियो ।

SAM_4254

तपाईको प्रतिक्रिया