प्रेस चौतारी नेपालको अधिवेशन भोलीबाट, दुई पक्षबीच प्रतिस्पर्धा


Chautari

काठमाडौँ, जेठ ५ गते । नेकपा (एमाले) सम्बद्ध पत्रकारको संस्था प्रेस चौतारी नेपाल अहिले आठौं महाधिवेशनको संघारमा आइपुगेको छ । जेठ ६ देखि ८ गतेसम्म काठमाडौंमा अधिवेशन हुँदैछ ।

नयाँ संविधान अनुकूल विधान र नेतृत्वको कार्यसूची भएकाले नेतृत्वका आकाङ्क्षी, यसका सदस्य र पत्रकारिता क्षेत्रमा महाधिवेशन पत्रकारबीच चासोको विषय भएको छ ।

‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने मूल नाराकासाथ हुने महाधिवेशन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा तय गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन, आवास तथा अन्य तयारी पूरा भएको चौतारीले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन, आवास तथा अन्य तयारी पूरा भएको चौतारीले बताएको छ ।

चुनावी प्रचारका लागि बागबजार र आसपास क्षेत्रमा पत्रकारको भिड लाग्न थालेको छ । भावी अध्यक्षमा पूर्व महासचिव गणेश बस्नेत र वर्तमान महासचिव माधव नेपालबीच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि सहमतिको प्रयास जारी राखिएको छ ।

चौतारीले चयन गरेका उम्मेदवार पछिल्ला कार्यकालमा नेपाल पत्रकार महासङ्घको नेतृत्व (शिव गाउँले र डा महेन्द्र विष्ट) मा पनि पुगेकाले यसप्रति थप आकर्षण बढेको हो । यो संस्था हाल मुलुकको ७५ वटै जिल्लामा शाखा विस्तार भएको पहिलो सञ्चार संस्था पनि बनेको छ ।

विसं. २०५५ मङ्सिर २७ मा अनामनगरस्थित पत्रकार हेम पाठकको निवासमा अग्रज पत्रकार गोपाल थपलिया, डा कुन्दन अर्याल, अग्निशिखा, गोकुल बास्कोटालगायतको भेलामा प्रगतिशील पत्रकारबीच साझा संस्थाको आवश्यकता महसुस गरी चौतारी गठन गर्ने निर्णय भएको थियो । पत्रकार तथा साहित्यकार विजय चालिसेको अध्यक्षतामा २०५५ माघ २२ मा विधिवत दर्ता भएको थियो । त्यसपछि शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याल अध्यक्ष भइसक्नु भएको छ ।

यसैबीचमा सबैभन्दा बढी तीन कार्यकाल अध्यक्ष हुनुभएका पूर्व अध्यक्ष श्रेष्ठ एमालेको मोर्चा सङ्गठन भएपनि चौतारीलाई बेग्लै र बौद्धिक क्षेत्रसँग सम्बन्धित तथा प्रेस स्वतन्त्रतासँग गाँसिएको व्यावसायिक पत्रकारको साँझा संस्था बनाउन आवश्यक रहेको बताउनुहुन्छ ।

श्रेष्ठले भन्नुभयो, “यसमा पार्टीले हस्तक्षेप गर्नु हुँदैन । वैचारिक सम्बन्ध होला तर पार्टी कार्यकर्ता यसको नेतृत्वमा आउनुर्छ भन्ने मान्यता होइन । पत्रकारले नेतृत्व गर्ने हो । पत्रकार गुटबन्दीमा लाग्नु हुँदैन ।”

केपी ओली प्यानलबाट गणेश बस्नेत र नेता माधवकुमार नेपाल प्यानलबाट माधव नेपाल अध्यक्षका दावेदार देखिएका छन् ।

पूर्व अध्यक्ष विष्ट श्रमजीवी पत्रकारको अगुवाई तथा कानुनीराज स्थापना, दण्डहिनताको अन्त्यका लागि पहल गर्ने र उनीहरुको पक्षमा बोल्ने एक आस्थावान सङ्गठन चौतारीले सुरुका वर्षका सबै वामपन्थी पत्रकारलाई समेट्न खोजेपनि पछि वामपार्टी विभिन्न ध्रुवमा विभाजित हुँदा यो एमाले निकट मात्र रहेको बताउनुहुन्छ । उहाँले आम श्रमजीवी पत्रकारका मुद्दा कसरी उठाउने र कसरी कार्यान्वयन गर्ने मुख्य चुनौती भएकाले श्रमजीवी पत्रकारको हितमा उभिएर व्यावसायिक पत्रकारिताको यात्रामा यो अघि बढ्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

चौतारीका महासचिव तथा भावी अध्यक्षका दाबेदार माधव नेपालकाअनुसार हाल कुल आठ हजार साधारण सदस्य रहेको संस्थाको महाधिवेशनमा देशभरबाट करिब ७०० प्रतिनिधि (पार्षद्) आउँदै छन् । उहाँले पत्रकारलाई सीप र दक्षताका लागि जोड दिन सरकारले गठन गर्ने राष्ट्रिय आमसञ्चार प्रतिष्ठानलाई अगाडि बढाउने र श्रमजीवी पत्रकारको हक हितका लागि थप सक्रिय हुनु आगामी कार्यभार रहेको बताउनुभयो ।

यसअघि २०६९ फागुन २५–२९ मा विराटनगरमा सम्पन्न साताँै राष्ट्रिय महाधिवेशनमा राजेन्द्र अर्यालको अध्यक्षतामा नेतृत्व निर्वाचित भएको थियो । चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा र वीरेन्द्र साहका स्मृतिमा पुरस्का स्थापना गरेको छ भने क्रियाशील युवा पत्रकारिता पुरस्कार पनि वितरण गर्दै आएको छ ।

यस अधिवेशनमा स्पष्ट दुई प्यानलमा पत्रकार विभाजित भएपनि सहमतिको प्रयास अन्तिम समयसम्म जारी राख्ने एमाले प्रचार विभागले बताएको छ । अहिलेसम्म महासचिवमा राजेश राई र गणेश पाण्डेबीच टक्कर हुने देखिएको छ । त्यस्तै दुई उपमहासचिवमा शुरोजंग पाण्डे, देविका घर्तीमगर, अमृत तिमिल्सिना र रामशरण शर्माको दावी देखिएको छ ।

कुल ८७ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारी तथा सदस्यहरुको उम्मेदवारी घोषणा गर्ने प्रतिस्पर्धा चलिरहेको छ । केपी ओली प्यानलबाट गणेश बस्नेत र नेता माधवकुमार नेपाल प्यानलबाट माधव नेपाल अध्यक्षका दावेदार देखिएका छन् ।

तपाईको प्रतिक्रिया