जेठ ३१ गतेको थरुहट बन्द नहुने, तयारी नपुग्ने भन्दै हलबाट अस्वीकार

सबै थारुलाई धनिराम बन्न धनीरामको आग्रह


SAM_4368

काठमाडौं, जेठ १० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलामा प्रस्तुत आन्दोलनका कार्यक्रमहरुमा ३१ गतेको थरुहट आमहडताल बाहेकका सबै आन्दोलन यथावत राख्ने निर्णय गरेको छ । आमहडतालको तयारी नपुग्ने भन्दै ३१ गतेको थरुहट बन्द तत्कालको लागि स्थगित गरेको समितिले जनाएको छ ।

संघर्ष समितिकी सदस्य तथा सांसद रुक्मिणी थारुले प्रस्तावकोरुपमा केन्द्रीय भेलामा राख्नुभएको आन्दोलनको कार्यक्रममा बन्द बाहेक अरु सबै आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको छ । थारु समुदाय खेतीपातीमा विश्वास गर्ने र खेतीका दिन आएकाले बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय हलले गरेको हो ।

आन्दोलनका बाँकी कार्यक्रमलाई यथावत राख्ने र दवावका लागि निरन्तर लाग्ने प्रस्ताव बैठकले पारित गरेको छ । थरुहट जिल्लाबाट काठमाडौंको दुई दिने केन्द्रीय भेलामा सहभागी प्रतिनिधिहरुले बन्द, हडतालको तयारी तत्काल नपुग्ने भन्दै विरोध जनाएपछि संघर्ष समितिका नेतृत्वकर्ताहरुले त्यस प्रस्तावलाई तत्कालका लागि स्थगित गर्ने सहमतिमा पुगेका हुन् ।

SAM_4366

समापन कार्यक्रममा बोल्दै संयुक्त संघर्ष समितिका संयोजक तथा थारु कल्याणकारिणीसभाका अध्यक्ष धनीराम थारुले संघर्ष समितिको आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण भएको बताउनुभयो । टीकापुर घटना सुनियोजितरुपमा घटाएर थारुको आन्दोलन कमजोर पार्ने षडयन्त्रस्वरुप भएको उहाँले प्रष्ट पार्नुभयो । “हाम्रो आन्दोलन शान्तिपूर्ण हो, सशस्त्र आन्दोलन होइन” थारुले भन्नुभयो ।

थारु राज्यबाट विभेदमा परेको समुदाय हो भन्ने अन्तर्राष्ट्रिय समुदायलाई जानकारी भएको बताउँदै अध्यक्ष थारुले आन्दोलनले सफलता नपाउँदासम्म चुप लागेर नबस्ने प्रतिवद्धता जनाउनुभयो । थारुको आन्दोलन तुहाउन आफूलाई अनेक राजनीतिक दलबाट ठूलठूला प्रलोभन आएको तर आफूले त्यसलाई इन्कार गरेको बताउनुभयो ।

SAM_4349

नेता राजकुमार लेखीले आफैले गरेको निर्णयको उल्लंघन गरी थरुहट तराई पार्टीका नेताले मनोमानी गरेको आरोप लगाउनुभयो । “गल्ती गरेर पनि गल्ती नस्वीकार्ने प्रबृत्ती ठीक होइन, आन्दोलन सफल पार्ने हो भने सबै अनुशासित हुनैपर्छ” लेखीले भन्नुभयो ।

“थारु समुदाय कसैको पुच्छर होइन, कार्यगत एकता हुनसक्छ, समान हैसियतमा पार्टी एकीकरण हुनसक्छ तर आफ्नो पहिचान, अस्तित्व गुमाएर कसैको पुच्छर थारु समुदाय बन्न सक्दैन” नेता लेखीले भन्नुभयो । नेता लेखीले पूरै दिन बन्द गर्नुभन्दा केही घण्टा बन्द गर्ने, चक्काजामको कार्यक्रम गर्न प्रस्ताव गर्नुभयो ।

SAM_4361

कार्यक्रममा बोल्दै सांसद रुक्मिणी थारुले मधेसीले पुनः थारुलाई मधेसीकरण गर्नकालागि कसरत शुरुगरेको आफूले जानकारी पाएको बताउनुभयो । “थारु क्लष्टर हटाउन मधेसवादी दलका नेताले प्रमुख दलका नेतासँग छलफल गरिरहेको जानकारीमा आएको छ, त्यस्तो गरिए पुनः थारु र मधेसीबीचको द्वण्द्व शुरु हुन््छ” उहाँले भन्नुभयो । संघर्ष समितिले कसैलाई निषेध गर्न नखोजेको तर गल्ती गर्नेलाई कारवाही गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेता किशोर विश्वासले थरुहट आन्दोलनमा लागेर घाइते भएका, कारागार जीवन बिताइरहेकाहरुको समस्याका बारेमा नेतृत्वले पहलकदमी लिनुपर्ने बताउनुभयो । थारुको माग सम्बोधनका लागि थारुको एकता अपरिहार्य भएको भएपनि एकता गर्ने सूत्रको फेला नपरेको उहाँले बताउनुभयो । “थारुलाई एक बनाउने कसैसँग सूत्र छ भने लिएर आउनुस् हामी त्यसलाई सहर्ष स्वीकार गर्न तयार छौं” नेता विश्वासले भन्नुभयो ।

तपाईको प्रतिक्रिया