सार्वजनिक स्थलमा १० जनामा नौ महिलामाथि यौनहिंसा


bus_LYGD

काठमाडौं, जेठ १८ गते । सार्वजनिक यातायात र स्थलमा हरेक १० जनामा नौजना महिलामाथि यौनहिंसा हुनेगरेको एक अध्ययनले देखाएको छ ।

होमनेट नेपालको आयोजनामा सोमबार यहाँ आयोजित सुरक्षित सहर अभियान शुभारम्भको अवसरमा आयोजित कार्यशाला गोष्ठीमा त्यस्तो देखाइएको हो । सार्वजनिक स्थल, सार्वजनिक यातायात, सडक, फिल्म हल तथा अन्य स्थानमा महिलामाथि सबैभन्दा वढी यौन हिंसा हुनेगरेको अध्ययनले देखाएको छ ।

गाडीमा छुन खोज्ने, संवेदनशील अंगमा नजर लगाउने, छुने प्रयास गर्ने, डण्डी समातेको ठाउँमा हातमाथि समात्ने र अश्लील शब्दहरु प्रयोग गर्नेगरेको अध्ययनले देखाएको छ । अनुसन्धानकर्ता जीवनराज लोहनीले सन् २०१४ र २०१६ मा दुई पटक गरेको अध्ययनले त्यस्तो देखाएको हो । लोहनीले विभिन्न जिल्लाको ७०० किशोरी तथा महिलामाथि त्यसको अध्ययन गरेको जानकारी दिनुभयो ।

1

त्यसमा सबैभन्दा वढी यौन हिंसा सार्वजनिक यातायात र फिल्महलमा हुनेगरेको उहाँको भनाई छ । योनहिंसा भएका किशोरीमध्ये ११ प्रतिशतलेमात्र प्रहरीमा उजुरी गर्नेगरेको र अधिकांशले प्रतिकार गर्न डराउनेगरेको देखाएको छ ।

यौनहिंसामा परेकी पुष्पा केसीले सार्वजनिक गाडीमा यौन हिंसा पटक पटक भएपछि आफूले दुई पटक पुरुषलाई चप्पल निकालेर प्रहार गरेको अनुभव सुनाउनुभयो । संवेदनशील अंग छुने र हात समात्न खोज्नेबाट प्रताडित भएर आफूले प्रतिकार गरेको उहाँले गुनासो सुनाउनुभयो ।

विद्यार्थी अस्मिता राईले विद्यालय जाने र आउने बेलामा बाटोमा युवा समूहले सबैभन्दा वढी यौन हिंसाको प्रयास गर्नेगरेको गुनासो सुनाइन् । फिल्म हेर्न जाने प्रस्तावहरु पटक पटक आफूलाई गर्दा सह्य नभएर प्रतिकार गरेको र होहल्ला गरेर स्थानीयसँग सहयोग मागेपछि मात्र आफूलाई केटाले सताउन छाडेको उनले बताइन् ।

सो अवसरमा उपप्रधानमन्त्री तथा महिला बालबालिका मन्त्री चन्द्रप्रकाश मैनालीले विकासको क्रमसँगै समाजमा विकृतिहरु बढ्दै गएकाले त्यसको न्यूनिकरणका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । महिलामाथि हुने यौन हिंसाको समस्याबारे सरकार संवेदनशील भएपनि त्यसको न्यूनिकरणमा सरकार एक्लैले केही गर्न नसक्ने भन्दै उहाँले सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।

महिलामाथि हुने यौन हिंसाको समस्याबारे सरकार संवेदनशील भएपनि त्यसको न्यूनिकरणमा सरकार एक्लैले केही गर्न नसक्ने भन्दै उहाँले सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।

होमनेट नेपालकी अध्यक्ष चन्द्रमाया महर्जनले सार्वजनिक स्थलमा महिलामाथि हुने यौनजन्य हिंसाले महिलाको मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै सरकारलाई सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । किशोरी महिलामाथि यौनहिंसा दिनकादिन भएपनि प्रतिकार गर्ने हिम्मत सबैलाई नहुने हुनाले धेरै समस्या बाहिर नआउनेगरेको उहाँले बताउनुभयो ।

एक्सनएडका विमलकुमार फुयाँलले महिलामैत्री वातावरणको निर्माण नहुँदासम्म सभ्य समाजको निर्माण हुन नसक्ने बताउनुभयो । नागरिकलाई सभ्यतातर्फ उन्मुख गराउन पनि महिलामाथिको हिंसालाई अन्त्य गर्न आवश्यक रहेको भन्दै उहाँले नागरिक शिक्षाको अभियानको आवश्यकता रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया