एमालेले ३१ विभागलाई पूर्णता दियो, १ मा थारु , १ मा मधेसी र १० मा जनजाति प्रमुख


SAM_4523

काठमाडौं, जेठ २१ गते । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको करिब दुई वर्षपछि विभिन्न ३१ वटा विभागलाई पूर्णता दिएको छ । सर्वसम्मतरुपमा पूर्णता पाएको विभागलाई समावेशी र सन्तुलित चरित्रलाई मुख्य आधारमा बनाएको पार्टीले दावी गरेको छ ।

केन्द्रीय कमिटीले विभाग गठन गर्ने जिम्मेवारी विधानमा रहेपनि सहमति हुन नसकेपछि विभागको पूर्णताका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरी गृहकार्य गरिएको थियो । जसमा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य हुनुहुन्थ्यो । गत वैशाख पहिलो साता सम्पन्न पार्टीको छैठौं केन्द्रीय बैठकले विभाग पूर्णताको गृहकार्य गर्ने जिम्मेवारीसहित कार्यदल गठन गरेको थियो ।

कार्यदलका संयोजक ईश्वर पोखरेलले विविधता, समावेशीता र विषयविज्ञताको छनौट गर्दा विभाग गठनमा ढिलाई भएको स्वीकार्नुभयो । “ढिला भएपनि राम्रो र सर्वसम्मत सहमतिकासाथ विभागले पूर्णता पाएको छ” पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो ।

कार्यदलका संयोजक ईश्वर पोखरेलले विविधता, समावेशीता र विषयविज्ञताको छनौट गर्दा विभाग गठनमा ढिलाई भएको स्वीकार्नुभयो । “ढिला भएपनि राम्रो र सर्वसम्मत सहमतिकासाथ विभागले पूर्णता पाएको छ” पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो ।

त्यस्तै कार्यदलका अर्का सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीले बनाएको मापदण्डभित्रै रहेर विभागलाई समावेशीतालाई आधार बनाएर पूर्णता दिइएको बताउनुभयो । गोरखापत्रसँग कुरा गर्नुहुँदै कार्यदल सदस्य गुरुङले भन्नुभयो, “प्रदेशीक सन्तुलन, समावेशीता, क्षेत्रीयता र पार्टीमा दिएको योगदानका आधारमा विभागका संयोजक र सदस्यहरुको टुंगो लगाइएको छ, बाहिर मिडियामा आएकोजस्तो कुनै भागबण्डा भएको छैन ।”

एमालेले केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका संयोजक तथा सदस्यको टुंगो महाधिवशेनबाट लगाउने गरेको छ । तर बाँकी सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा केन्द्रीय विभागको गठन केन्द्रीय कमिटीले गर्ने व्यवस्था छ । केन्द्रीय कमिटीमा विभाग गठनबारे सहजै सहमति हुन नसकेपछि कार्यदल गठन गरेर टुंगो लगाएको हो ।

३१ वटा विभागमा संगठन विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङ, उपप्रमुख भानुभक्त ढकाल रहनुभएको छ । स्कूल विभागको प्रमुख केपी शार्म ओली र उपप्रमुख शंकर पोखरेल रहनुभएको छ । वैदेशिक मामिला विभागको प्रमुख माधवकुमार नेपाल रहनुभए पनि उपप्रमुख तोकिएको छैन । सोहीअनुसार प्रचार विभागमा यसअघि नै टुंगो लागिसकेको प्रमुखमा योगेश भट्टराई र उपप्रमुख सूर्य थापा रहनुभएको छ ।

कार्यदलले टुंगो लगाएको अन्य विभागमा पर्यटन प्रवद्र्धन विभागको प्रमुखमा सूर्य थापा, राजकीय मामिला विभागको प्रमुखमा भीमप्रसाद आचार्य, आर्थिक विभाग प्रमुखमा विष्णुप्रसाद रिमाल, विज्ञान तथा पविधि विभागको प्रमुखमा डा. वंशीधर मिश्र, संसदीय विभाग प्रमुखमा सुवासचन्द्र नेम्वाङ, युवा तथा खेलकुद विभागमा कर्णबहादुर थापा, उद्योग तथा वाणिज्य विभागमा मुकुन्द न्यौपाने, संस्कृति विभागमा खगेन्द्र राई, श्रम तथा रोजगार विभागमा प्रकाश ज्वाला, शिक्षा तथा मानवश्रोत विभागमा गंगालाल तुलाधर प्रमुख रहनुभएको छ ।

त्यस्तै, संघीय मामिला विभागको प्रमुखमा परशुमेघी गुरुङ, न्याय तथा कानून विभागमा रघुजी पन्त, उपभोक्ता हित संरक्षण तथा सुशासन विभागमा घनेन्द्र बस्नेत, सामाजिक सेवा विभागमा डा. विजय सुब्बा, सामान्य प्रशासन विभागमा ममता गिरी, स्थानीय विकास विभागमा किरण गुरुङ, अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डे, पुस्तकालय तथा अभिलेख विभागमा काशीनाथ अधिकारी, स्वास्थ्य तथा जनसंख्या विभागमा सुजिता शाक्य रहनुभएको छ ।

सोहीअनुसार राष्ट्रिय सुरक्षा विभागमा तुलबहादुर गुरुङ, सहकारी तथा गरिबी निवरण विभागमा पशुपति चौलागाई, शहरी विकासमा श्रीमाया थकाली, जलस्रोत तथा उर्जा विभागमा प्रदीप नेपाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा डा. विजयकुमार पौडेल, कृषि तथा भूमिसुधार विभागमा ठाकुर गैरे, निर्वाचन विभागमा राजेन्द्रप्रसाद पाण्डे र वन तथा वातावरण विभागमा नगेन्द्र चौधरी प्रमुख तोकिनुभएको छ ।

विभागमा २५ जना सदस्य रहने व्यवस्था भएपनि केही विभागले अझै पूर्णता पाएको छैन । पूर्णता नपाएका विभागहरुमा पुस्तकालय तथा अभिलेख विभाग, राष्ट्रिय सुरक्षा विभाग, संसदीय विभाग, पर्यटन प्रवद्र्धन विभाग, संगठन विभाग र आर्थिक विभाग रहेका छन् । जसमध्ये आर्थिक विभागमा सबैभन्दा कम तीनजनामात्र विष्णुप्रसाद रिमाल, कृष्णगोपाल श्रेष्ठ र खेमराज पौडेल सदस्य हुनुहुन्छ ।

विभागमा २५ जना सदस्य रहने व्यवस्था भएपनि केही विभागले अझै पूर्णता पाएको छैन । पूर्णता नपाएका विभागहरुमा पुस्तकालय तथा अभिलेख विभाग, राष्ट्रिय सुरक्षा विभाग, संसदीय विभाग, पर्यटन प्रवद्र्धन विभाग, संगठन विभाग र आर्थिक विभाग रहेका  छन् । जसमध्ये आर्थिक विभागमा सबैभन्दा कम तीनजनामात्र विष्णुप्रसाद रिमाल, कृष्णगोपाल श्रेष्ठ र खेमराज पौडेल सदस्य हुनुहुन्छ ।

सदस्य संख्या नपुग रहेको विभागमा केही दिनमा सबै सदस्यको टुंगो लाग्ने कार्यदलका सदस्य पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । प्रमुख नेताहरुको परामर्श, विभागीय प्रमुखहरुको सल्लाह र आवेदनका आधारमा विभागलाई न्यायोचित ढंगले पूर्णता दिएको उहाँले प्रष्ट पार्नुभयो ।

२०७१ असार १९ देखि साउन १ सम्म काठमाडौंमा भएको नवौं महाधिवेशन सम्पन्न भएपछि नेताहरुको आपसी तिक्तता र भागबण्डाका कारण विभागले पूर्णता पाउन सकेको थिएन । नेताहरुबीचको परामर्श र छलफलकै आधारमा दुई वर्षपछि विभागले पूर्णता पाएको छ । विभागले पूर्णता नपाउँदा नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको भन्दै पार्टी पंक्तिभित्र नेतृत्वको आलोचना हुँदैआएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले पत्रकारले सोधेको छुट्टै प्रसंगमा अहिलेको अवस्था राजनीतिक दलका नेताबीच कमन अण्डरस्टान्डिङ गर्नेबेला भएको बताउनुभयो । प्रमुख दलबीच सहमति बन्न नसके संविधान कार्यान्वयनमा समेत जटिलता आउने उहाँले आशंका व्यक्त गर्नुभयो । सरकार गठनबारेको भद्र सहमतिको विषयमा पत्रकारले सोधेको जिज्ञासामा उहाँले त्यसबारेमा खासै बोल्न चाहनु भएन । समय आएपछि सबै कुरा सार्वजनिक हुने भन्दै उम्किनुभयो ।

पत्रकार सम्मेलनमा महासचिव, सचिवहरु, पोलिटव्यूरा सदस्य तथा केन्द्रीय सदस्यहरुको सहभागिता थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पत्रकार सम्मेलनमा आउने पार्टीले जानकारी दिएको भएपनि समय व्यस्तताले अन्तिम समयमा उहाँ नआउने जानकारी पत्रकारलाई प्रचार विभाग प्रमुख योगेश भट्टराईले गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया