टीकापुर घटनामा पक्राउ परेकालाई विनासर्त रिहाइको माग


Kailali

धनगढी, जेठ २६ गते । टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजबन्दी जीवन विताइरहेका परिवारहरुले राजबन्दीको रिहाई र क्षतिपूर्तिको मागगर्दै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँलाई पाँचबुँदे माग राख्दै पीडित परिवारले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा राष्ट्रपति कार्यालय, गृहमन्त्रालय, परराष्ट्र र राष्ट्रिय मानवाधिकार आयोगलाई बोधार्थ बनाइएको छ ।

मागको सुनुवाई नभए आन्दोलन चर्काउने चुनौति पीडित परिवारले सरकारलाई दिएका छन् ।

पीडित परिवारले पक्राउ गरी जेल जीवन विताइरहेकाहरुलाई विनासर्त तत्काल रिहाई गरिनुपर्ने, अहिलेसम्मको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, भदौ ७ गते टीकापुर घटनापछि टीकापुर बजारमा रहेका थारु घरमा आगजनी गर्नेलाई तत्काल कारवाही गरिनुपर्ने र सुरक्षाकर्मीले निश्पक्ष व्यवहार गर्ने वातावरण मिलाउन सरकारसँग पीडित परिवारले माग गरेका छन् ।

सदियौंदेखि राज्यबाट पछाडि पारिएको थारु समुदाय आफ्नो अधिकारका निम्ति आन्दोलन गरेको तर टीकापुर घटना घटाउनमा स्वयम् सरकार मातहतकै सुरक्षाकर्मीको हात रहेको आरोप पीडितहरुले लगाएका छन् । मागको सुनुवाई नभए आन्दोलन चर्काउने चुनौति पीडित परिवारले सरकारलाई दिएका छन् ।

तपाईको प्रतिक्रिया