आकार लिंदै नागरिक समाजवादी पार्टी, केन्द्रीय कमिटीमा १०९ जना


SAM_3354

काठमाडौं, जेठ २७ गते । गत फागुन २७ गते २७ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको नागरिक समाजवादी पार्टी तीन महिनामा विस्तार भई १०९ सदस्यीय केन्द्रीय कमिटी विस्तारको घोषणा गरेको छ ।

तीन महिना पूरा भएको अवसरमा सो पार्टीले विहिबार कमिटी विस्तारको घोषणा गरेको केन्द्रीय संयोजक राजकुमार लेखीले बताउनुभयो । यो विस्तार चौथो चरणको भएको लेखीको भनाई छ । पछिल्लो पटक ४४ सदस्य थप गरेर १०९ सदस्यीय बनाइएको सो पार्टीको भनाई छ ।

सो पार्टी केहीदिन अघि मेची महाकाली जनजागरण तथा राजनीतिक चेतना अभियान सम्पन्न गरेको थियो । त्यही अवसरमा तराईका अधिकांश जिल्लामा पार्टीको जिल्ला कमिटी गठन गरिएको पनि सो पार्टीले बताएको छ । राष्ट्रिय पार्टीको अभियानमा जुटेका नेता लेखीले जातीय पार्टीको पक्षमा आफूहरु नरहेको बताउनुभएको छ ।

अधिकार सुनिश्चित्ताका लागि माग मुद्दा मिल्ने सबै दलहरुको कार्यगत एकता र सहकार्यको खाँचो सो दलले औल्याउँदैआएको केन्द्रीय संयोजक लेखीले बताउनुभयो ।

आफ्नो पार्टीमा थारुदेखि ब्राह्मण क्षेत्रीसम्म र दलित देखि जनजाति, मुस्लिम, अल्पसंख्यक सबैलाई अटाएर अगाडि बढ्ने संयोजक लेखीको भनाई छ ।

घोषित केन्द्रीय कमिटीमा लेखी आफै पार्टीका संयोजक हुनुहुन्छ । राज थारु (सप्तरी) लाई पार्टीको प्रवक्ताको जिम्मेवारी सो दलले तोकेको छ । दलमा रहेका अन्य सदस्यमा नगेन्द्र राजवंशी, यसोदा चौधरी, बृजमोहन चौधरी, महम्मद कैयुम, हुतराज भट्ट, उषा खान, छविलाल कोपिला, युवराज कुँवर, ओमकान्त पण्डित, शिवु यादव, सुवास श्रेष्ठ, सन्तोष श्रेष्ठ लगायत रहेका छन् ।

थारुलगायत आदिबासी जनजाति, मधेसी थारु, दलित, मुस्लिम, मधेसी लगायत पछाडि पारिएका वर्गको हकअधिकार सुनिश्चित गर्नेगरी अभियान शुरु गरिएको सो पार्टीले बताएको छ । सो वर्गको अधिकार सुनिश्चित्ताका लागि माग मुद्दा मिल्ने सबै दलहरुको कार्यगत एकता र सहकार्यको खाँचो सो दलले औल्याउँदैआएको केन्द्रीय संयोजक लेखीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया