काठमाडौँ, जेठ २८ गते। पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम ढिला भएको गुनासो बढेपछि काठमाडाँै महानगरपालिकाले ठेकेदार कम्पनीलाई तत्काल शुरु गर्न आग्रह गरेको छ ।
झन्डै दुई महिनाअघि नै निर्माणको काम सुरुगर्ने भन्दै पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुलामञ्चमा सारिसकिएको थियो । अहिलेसम्ममा स्तम्भ निर्माणका लागि जग राख्ने काम सकिसक्नुपर्ने भएपनि हालसम्म कुनै काम भएको छैन । अब केही दिनमा पनि काम सुरु नगरे हाल निर्माणको लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाउने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।
स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालले भने निर्माण सामग्रीको अभावले गर्दा ढिला भएको बताउनुभयो । “टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरुगर्न ढिला भएको हो” भेटुवालले भन्नुभयो ।
उहाँका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ ।
“टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरुगर्न ढिला भएको हो” भेटुवालले भन्नुभयो ।
हाल पुरानो बसपार्कमा जस्ताले बार्ने काममात्र भएको छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आएसँगै निर्माणले गति लिने बताइएको छ ।
भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किनेखालको हुने बताइएको छ ।
कामपासँग गरिएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरुभएको पाँचवर्षभित्र स्तम्भ बनाइ सक्नुपर्ने छ ।
स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङस्थल रहने छ । त्यस्तै त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । रासस